एकले अर्कालाई नंग्याउँदै प्रदेशका मन्त्रीहरु

जनकपुरधाम । मधेश प्रदेशका मन्त्री तथा पूर्व मन्त्रीहरु एकले अर्कालाई नंग्याउँदै प्रदेशसभालाई रंगमञ्च बनाइरहेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले योजना बेचेको आरोप लगाएपछि माओवादी संसदीय दलका नेता समेत रहेका पूर्व अर्थ मन्त्री भरत साहको पोल खोलिएको छ । साहले अर्थ मन्त्री हुँदा पैसा लिएर रातो किताबमा योजना राखेकोदेखि गृह, सञ्चार तथा कानुन मन्त्रीको हैसियतले अवैध सुराकी भत्ता लिएको आरोप मन्त्री यादवले लगाए ।
मन्त्री यादवले माओवादी द्वन्द्वकालमा जग्गा कब्जा गरी सहकारीको नाउँमा अवैधानिक रुपले स्वामित्वमा पारेको पनि पूर्व मन्त्री साहमाथि आरोप लगाए । यादवले सुराकी नै नगरी त्यसको नाउँमा भत्ता बुझेका पूर्व मन्त्रीहरु, सचिवहरु र कर्मचारीहरुको नाम सार्वजनिक गरेका छन् ।
ती मध्ये पूर्व मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्री तथा कर्मचारीहरुले कुरा बाहिरएपछि बुझिसकेको रकम सरकारलाई फिर्ता पनि गरेको सार्वजनिक गरे ।