मधेशमा आएर ओलीले भने, ‘गणतन्त्रको विकल्प छैन’

छिमेकमा ठूलो बजार छ । यातायात सुविधा पनि राम्रो छ । मधेशको सिमरा बाहेक विभिन्न स्थानमा पनि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ । जनकपुर पहिले भन्दा सफा भएको छ । जनकपुर चक्रपथको काम कति भयो । यो चक्रपथले जनकपुरको विकासमा ठूलो सहयोग पुग्छ ।

पूर्व मुख्यमन्त्रीहरुसँग पनि अनुभव सुन्नुस् । प्रतिपक्षसँग पनि परामर्श लिनुस् । सत्तापक्षले पनि प्रतिपक्षसँग मिलेर अघि बढ्ने प्रयास गरोस् । यो प्रदेशले अरु प्रदेशहरुलाई उछिन्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढोस् । एकजुटताको लागि साथीहरुको ध्यानाकर्षण गराउँछु ।

हनुमान नगरमा नदीको बाटो प्रयोग गरेर जहाज ल्याएर ढुवानी कार्यलाई सस्तो, सुरक्षित र छिटो सेवा दिनुपर्छ । सुनकोशी मरिण डाइभर्सनको सम्भावना छ । सुनकोशी कमला डाइभर्सनको सम्भावना छ । एउटा पहाड खोल्दा सुनकोशीलाई कमलामा ल्याउन सकिने सम्भावना छ । मलका लागि अहिलेसम्म रसायनिक मलमा अनुदान दिने गरेका छौं । अब प्रांगारिक मलमा अनुदान दिनुपर्छ । फोहोरबाट विद्युत, ग्यास र मल उत्पादन गर्ने कारखानाहरु खोल्न ध्यान पुग्नुपर्छ । २५ देखि ३० करोडमा यस्ता कारखाना सञ्चालनमा ल्याउन सकिने भएर यस्ता कुरामा ध्यान दिनुपर्छ ।

अग्र्यानिक खानेकुरा पाइयोस् । उत्पादन र उत्पादकत्व बढाउन नयाँ युक्तिको प्रयोग गरौं । सामाजिक विकासमा सुधार गरौं । यो प्रदेशमा बोक्सीको कुरा धेरै उठ्छ । मलाई यत्रो दुनियाँले सरापेको छ । मधेश प्रदेशमा कोही छ भने मलाई बोक्सी लगाइदिए हुन्छ नि । क, ख पढ्न नजान्नेले घरमै बसेर हावामै वाण हान्दिन्छ । आजको जमानामा पनि यस्ता कुरा पत्याएर हिँड्ने ? हामी जनप्रतिनिधिहरुले यस्ता विषयमा जनचेतना जोगाउनुपर्छ । बालविवाहको महामारी छ । यसलाई जनचेतनाबाट रोक्नुपर्छ । सामाजिक अपराध, महिलामाथि हुने हिंसालाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिए आफै ठीक हुन्छ । यस्ता कुरालाई भोटसँग साटेर अगाडी बढ्न सकिदैन ।

दहेज अहिले पनि छ । विवाहको मण्डपबाट केटो उठेर हिँडेको सुन्दा अचम्म लाग्छ । जो सँग बिहे गर्छु भनेर मण्डपमा बसेको छ, मोटरसाकिल पाइनँ भनेर साथी छोडेर हिँड्छ । यो कुचलन हो । यसमा सुधार ल्याउँ । पछाडी परेको समुदायलाई अगाडी बढाउँ । आफूले सकेको गरौँ । मैले पनि सिरहामा एउटा डोम बाबु र एउटा खत्बे छोरीलाई शैक्षिक अभिभावकत्व लिएका छौं । त्यो बेला धेरैले अभिभावकत्व लिए कतिले निर्वाह गरेका छन् कतिले गरेकै छैन । यस्ता कुरामा सचेत रहनुपर्छ । मन्त्रीले भनेको कुरामा, घोषणा गरेको कुरामा अडिग रहनुपर्छ । मैले मधेशमै आएर किन अभिभावकत्व ग्रहण गरेँ त भन्दा मैले डोमको छोरा र खत्बेको छोरीलाई आफ्नो छोराछोरी मानेर पढाइरहेको छु । विस्तारै उनीहरुको पढाइ राम्रो भइरहेको छ । उनीहरुलाई कम्तीमा १२ कक्षा सके अझ माथिल्लो स्तरको शिक्षा दिनुपर्छ भन्ने मेरो विचार छ ।

भोजमा के आइटम पकाइएको छ त्यो लेखिदिने तर जातको कुरा नगरौं । मान्छेको उचनिचको कुरा नगरौं । मान्छे उचनिच हुँदैहुँदैन । हाम्रो गाउँमा मात्रै उच र निच हुने । अन्त्य पुग्ने बित्तिकै नहुने । यस्तो के हो ? यस्तामा सुधार गर्न सक्नुपर्छ ।
म मुख्यमन्त्रीजीलाई भन्छु, किसानलाई व्यवसायिक तालिम दिउँ । खेती र पशुपालनको बारेमा व्यवसायिक तालिम दिउँ । एकदिनको गोष्ठी गरेर केही पनि हुनेवाला छैन । उनीहरुले सिक्नेगरी तालिम दिउँ । त्यो तालिमबाट दक्ष भएर परिस्कृत भएर आफ्नो उत्पादन बढाउने सीप सिक्छन् । पहाडमा गुरु किसान तोकिएको छ । उनीहरुले गाउँ गाउँ घुमेर तालिम दिन्छन् । त्यस्तो मधेशमा पनि गर्न सकिदैन र ?

सामुहिक खेतीमा जोड दिनुपर्छ । शीतभण्डारको सुविधा दिनुपर्छ । उत्पादनको आधारमा किसानलाई सहयोग गर्न सकिन्छ । यस्ता धेरै कामहरुले समाजको आर्थिक उत्थान गर्न सकिन्छ । यसका लागि प्रदेशसभा सदस्यहरुले अभियान चलाउन सक्नुपर्दछ ।

यदि प्रदेश सरकारले दिन्छ भने एकदुई जनाको दरले तालिम लिन मैले विदेश पनि पठाइदिन सक्छु । त्यस्तो तालिमबाट काम सिकेर हाम्रो भूमिमा राम्रो गर्न सक्छ । मन्त्रीको भ्रमणले केही हुनेवाला छैन । भर्खरै म प्रधानमन्त्री थाइल्याण्डबाट आएँ । धेरै देखेँ । तर सिकेको त छैन । गर्ने मान्छेलाई सिक्ने पठाउनुपर्छ ।

हामीले नयाँ प्रणाली ल्याएका छौं । दस वर्ष पुगेको छैन । संविधान बन्ने बित्तिकै मैले प्रधानमन्त्री भएपछि थुप्रै कानुन निर्माण गरेको छु । तपाइहरुले पनि सामाजिक उत्थान, जागरण, शिक्षा, स्वास्थ्य र जनतालाई सेवा डेलिभरी गर्ने कामहरुमा प्रदेशसँग हातेमालो गरी अघि बढ्न संघीय सरकार तत्पर छ । यसका लागि साथीहरुलाई पनि पहल गर्न आग्रह गर्न चाहन्छु ।
नयाँ प्रणाली भएको हुनाले यसको समायोजन, स्रोत बाँडफाँट, अनुदानका कुराहरुमा हामीले समाधान गर्न सक्छौं । जुमको माध्यमले पनि मैले कहिलेकाहीँ मुख्यमन्त्रीजीहरुसँग परामर्श गर्ने गरेको छु ।

अहिले यो प्रदेशमा म ठीक समयमा आएको छु । नीति निर्माण र बजेट ल्याउने समय आउँदैछ । वैशाखभित्रै नीति कार्यक्रम, जेठ १५ गते बजेट ल्याउने हो ।

ऋण लगायो भनेर हामीलाई आरोप लागिरहेको छ । संसारमा सबैभन्दा बढी ऋण जापानमा छ । राष्ट्रिय आयको तुलनामा हाम्रो ऋण छिमेकीभन्दा कम छ । जापानमा त राष्ट्रिय आयभन्दा बढी ऋण होला । तर, त्यो विकसित देश हो नि । हाम्रो मात्रै पैसाले विकास सम्भव नहुनसक्छ । तर, प्रशासनिक खर्च भटाउँदै जानुपर्छ । अहिले कार्यान्वयनमा दोब्बर खर्च भइरहेको छ जुन उपयुक्त होइन । यसलाई सच्याएर जान जरुरी छ ।

अलिकती पोलिटिकल कुरामा जान चाहन्छु । संघीय गणतन्त्र धेरै नागरिकको बलिदानीबाट प्राप्त भएको व्यवस्था हो । धेरैको आँसुको धाराको भित्रबाट आएको छ यो व्यवस्था । अहिले पनि धेरै अंगभंग भएका जनता छन् जसले यो व्यवस्था ल्याउन संघर्ष गरे । म वीर शहीदहरुप्रति अत्यन्तै आदरभावका साथ सम्मान र श्रद्धा अर्पण गर्न चाहन्छु । घाइते र पीडितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । हाम्रा अग्रजहरुप्रति आभार प्रकट गर्न चाहन्छु । जसले जागरणको शंखनाद् र अगुवाई गरे ।
आज हामी जहाँ छौं यसलाई सुव्यवस्थित गर्ने जिम्मेवारी कसको हो ? राम्रो जति सबै मेरो नराम्रो सबै तेरो भन्ने जस्तो गाउँखाने कथामा हुन्छ । यस्तो गरेर नभएजति अर्काले भएजति मैले भनेर मात्रै पनि अगाडी जान सकिदैन । विविधताको बीच एकता ल्याउन सक्नुपर्छ ।

समानता र समावेशीको सिद्धान्तलाई अझ व्यवहारिक बनाउँदै अघि बढ्नुपर्छ । यो उत्तम प्रणाली हो । यस प्रणालीको रक्षाका लागि समग्र विकासमा ध्यान दिन सक्नुपर्छ ।

राजनीतिक रुपमै यो प्रणालीलाई रक्षा गर्न सकिएन भने केही पनि हुँदैन । यो प्रणालीले हामीलाई प्रदेश सरकार बनाउने अधिकार दिएको हो । अब, कलिलो कलिलो अवस्थामा केही कमजोरी होला । बच्चा विस्तारै बामे सर्दै पाइला चाल्न सिक्छन् । ढलेर पनि उठ्छ र पहिलो पाइला चाल्न सक्दा हाँस्छन् । हामी पहिलो पाइला होइन, स्पिडमा गइसकेकाले खुशी हुनुपर्छ ।
संविधानप्रति वफादार छु भनेर शपथग्रहण गर्ने र शपथग्रहण गरिसकेपछि संविधान मान्दिनँ भन्न पाइन्छ । त्यसैले यस्तो हुनुहुँदैन । संविधान संसारमा परिवर्तन भइरहेको हुन्छ । समयको अनुभवले मागेको परिमार्जन गर्दै जानुपर्छ । हामीले पनि कमीकमजोरीरहित प्रभावकारी बनाउन र यो प्रणालीलाई बलियो बनाउन तथा जनतालाई सहज रुपमा सेवा दिन, सुशासन बढाउन, सामाजिक सद्भाव र एकता कायम गर्न संविधान परिमार्जन गर्ने कुरा गरेका छौं ।

बाहिर भइरहेको हल्ला जस्तो हाम्रो छिमेकी देशहरुसँग सम्बन्ध केही बिग्रेको छैन । छिमेकीकै गाईले बाली खाइदिन्छ । जोसँग सम्बन्ध छैन उसँग न मित्रता न शत्रुता हुन्छ । घर नजिकैको बच्चीले पल्लो घरको गिलास फुटाइदिन्छ । त्यसैले छिमेकीसँग भनाभन हुनसक्छ । तर, त्यसले सम्बन्ध बिगारियो भन्न मिल्दैन । हाम्रो दुई छिमेकीसँग असाध्यै राम्रो सम्बन्ध छ । कसैले बिगार्न सकिदैन । खुल्ला सिमानाको सदुपयोग गर्न र दुरुपयोग रोक्न दुवै पक्ष सचेत रहनुपर्छ ।

संविधान संशोधन गर्ने निश्चित हो । के संशोधन गर्ने भन्ने विषयमा व्यापक अध्ययन गरिन्छ । कहाँ के संशोधन गर्ने भन्ने विषयमा सबै पक्षको सल्लाह लिएर गरिने हो । प्यान्डोराको बाकस खोले जस्तो होइन, आवश्यक्ता अनुसार संशोधन हुनेछ ।
संविधान जारी गर्ने बेलामा केही मानिसको असन्तुष्टी थियो । पहिलो संशोधनको बेला चार जना विरोधमा थिए । दोस्रो संशोधन सर्वसहमतिमा भएको थियो । संविधान संशोधन भनेको प्रतिगमनको ढोका खोल्न हुँदैन । अहिलेको नयाँ जेनेरेशनले त राजतन्त्र भोगेको छैन । हामीले सुशिक्षित गर्नुपर्छ । तर, राजतन्त्र कोही जन्मिदै राजा भएर जन्मिने कोही रैती भएर जन्मिने कुरा कोही पनि सचेत नागरिकले स्वीकार्न सक्दैन । कुनै राजनीतिक दलले यस्तो कुरा त गर्नै सक्दैन ।

नागरिक सर्वोच्चता मान्न नसक्ने र कुनै व्यक्ति विशेषको सर्वोच्चता खोज्नु पछौटेपनवाला सोच हो, त्यतातिर देश जान सक्दैन । कांग्रेस र एमाले जस्ता देशप्रति जिम्मेवार दलहरु मिलेर राजनीतिक, सांस्कृति समस्या सम्बोधन गर्न एक ठाउँमा उभिएका हुन् । यतिबेला देशलाई जोगाउने, मजबुत बनाउने, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई संरक्षण गर्दै अघि बढ्नु आजको प्रमुख आवश्यक्ता हो ।

लोकतन्त्र आएर पनि देश विकासको तिव्रतामा जान नसक्नु दुखद् हो । यस्ता विषयमा सुधार गर्नकै लागि देशका दुई ठूला दल मिलेका हुन् । यो समिकरण सरकार बनाउन मात्रै नभएर देशको समस्या समाधान गर्नका लागि बनाइएको हो । दाउपेचको स्थितिलाई हटाउन यो समिकरण बनेको हो । यो सरकार बन्दै बन्दैन भन्नेहरु तिर्मिराएका छन् । अगामी चुनाव धाँधलीरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारीसम्म पुरा गर्ने अठोट यो समिकरणले गरेको छ । यो सरकार ढल्ने त कुरा छोडिदिनुस् हल्लिदैन पनि ।

चुनावबाट केही गर्न नसक्ने एकथरीले आगो लगाएर, तोडफोड गरेर, सञ्चारमाध्यममा आक्रमण गर्ने दुई चार हजार मान्छेको बितण्डा सभ्य समाजमा स्वीकार्य हुँदैन । यस्ता कुरा कानुनी कारबाहीको दायरामा आउँछ, सरकार दृढ छ । अहिलेको सरकारले कसैलाई कारबाही गर्दा आग्रह र पूर्वाग्रहको साथ न कसैलाई कारबाही गर्छ नकसैलाई उन्मुक्ति दिन्छ । राजनीतिमा प्रतिशोध अहिलेको सरकारको सिद्धान्त र आचरण विपरित हो भन्ने विश्वास दिलाउन चाहन्छु ।

Facebook Comments Box
    ट्याग: