प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभा सदस्यलाई सिकाए सुशासनको पाठ

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरुलाई इमान्दार भएर जनताको हितमा काम गर्न सुझाव दिएका छन् ।

जनताले प्रत्यक्ष रुपमा लाभ नपाएसम्म लोकतन्त्रको भाषण सार्थक नहुने बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मुल गर्ने दायित्व निर्वाहका लागि प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘मधेश प्रदेश चेतनामा एउटा अग्रणी प्रदेशको रुपमा संघीय प्रणाली स्थापनामा पनि महत्वपूर्ण भूमिका खेलेको प्रदेश हो । संघीयता रक्षाको लागि यो प्रदेश दृढतासाथ उभिएको छ । यो प्रदेशले नै संघीयतालाई सफलता साथ अगाडी बढाउन योगदान गर्नेछ भन्ने विश्वास लिएको छु । हाम्रो उपलब्धीलाई राजनीतिक उपलब्धीको रुपमा मात्रै सिमित राख्नु हुँदैन । हामीले राजनीतिक परिवर्तन र प्राप्त उपलब्धी जनताको बलिदान र संघर्षबाट आएका हुन् भन्ने यथार्थलाई बिर्सनुहुँदैन । यो प्रणाली जनता र देशको सेवामा समर्पित हुनुपर्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । यसको अर्थ राजनीतिक अधिकारको दायरालाई अझै बढाएर अघि बढ्नुपर्छ । यो प्रणालीले के दियो भनेर जनताले सोध्न सक्छन् । प्रणालीको उपलब्धी जनताले आफ्नो सन्तानको पढाइमा, आफ्नो पेटमा र उपचारको प्रत्याभूतिमा खोज्छन् । यी भएन भने प्रणाली बाँदरको हातमा नरिवल जस्तै हुन्छ । त्यसैले जनताको जीवनमा लोकतन्त्र आउनुपर्छ । सम्पूर्ण सामाजिक पक्षहरुमा लोकतन्त्र फुल्नुपर्छ र फल्नुपर्छ । त्यसैले सुशासन, समृद्धि र विकासको बाटोमा लग्नैपर्छ । विकासको काममा अलिकति कमिशनको आश, लाभको आश गर्न खोज्छौं भने जनतामा वितृष्ण फैलन्छ । गोप्य कुरा संसारमा केही पनि हुँदैन । जति गोप्य भनिएपनि मान्छेले थाहा पाइरहेका हुन्छन् । समाजका लागि मान्य कुरा मात्रै गोप्य रहन सक्छ । जनताले सत्यानुमान गरेका हुन्छन् त्यसलाई पनि आधार मान्नुपर्छ । भ्रष्टाचारलाई समाजले स्वीकारेको छैन । यो काम जतिसुकै गोप्य गरेपनि धुँवा निस्किन्छ । कमिशन तन्त्र र भ्रष्टाचारले राजनीतिप्रति जनताको वितृष्णा बढ्ने काम हुन सक्छ । यस्ता कामहरुमा हामी जनप्रतिनिधि सचेत रहनुपर्छ । हामीले कुशासन अन्त्य गरी कुशासन दिनलाई लोकतन्त्र चाहिएको हो । स्वच्छता र पवित्रताको साथ जनतालाई सेवा दिन सकिए लोकतन्त्र मजबुत हुन्छ । भाषणमा लोकतन्त्र भन्ने तर जनतालाई त्यो अनुरुपको सेवा नदिए जनताले विरोध गर्छ । हामीले सुशासनमा ध्यान दिनैपर्छ विकासका लागि ।’

Facebook Comments Box
    ट्याग: