सस्तो होडबाजीले ‘अखाद्य पानी’ छ्याप्छ्याप्ती

जनकपुरधाम । मानव शरीरमा सबैभन्दा बढी रोगको कारण दुषित पानी भएको निष्कर्षपछि सबैले किनेरै भएपनि खानयोग्य पानी उपयोग गर्न थालेका छन् ।

पछिल्लो समय लगभग हरेक घरको भान्सामा प्रशोधित पानीको प्रयोग हुँदैछ । तर, सर्वसधारणमा ज्ञानको कमी र पानी व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको कारण पैसा खर्चेर पनि शुद्ध पानी पाउन सकिरहेका छैनन् । व्यवसायीहरुले सस्तोको नाउँमा अखाद्य पानी बिक्री वितरण गरिरहेको देखिन्छ ।

‘पानीको व्यवसाय बाहिरबाट हेर्दा जति सहज र नाफामुलक देखिन्छ, आफैँ गरेर हेर्नुस् अनि थाहा हुन्छ’ एक दशकदेखि पानी व्यवसायमा प्रतिबद्ध भएर लागेका श्री बालाजी ड्रिकिङ वाटर उद्योगका सञ्चालक सञ्जय कुमार झा भन्छन्, ‘सतही रुपमा हेर्ने हो भने जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालमा किनेर पानी खाने अवस्था किन आयो ? हो, शुद्ध पाउनका लागि । तर, यहाँ बोतल वा जारमा प्याक गरेकै भरमा शुद्ध बुझ्न थालियो, जुन भ्रम हो ।’

झाले बजारमा बेच्न राखिएका सबै पानी पिउन योग्य नरहेको जिकिर गरेका छन् । यसका लागि विश्वसनीय प्रयोगशालामा जाँच गरी हेर्न उनको सुझाव छ ।

‘पानी बेचेर राम्रो कमाउन सकिन्छ भनेर पानी व्यवसायमा धेरैको आकर्षण भयो । तर, व्यवसायमा लगानी गरिसकेपछि गुणस्तर कायम राख्न सबैको वशको कुरा होइन रहेछ भन्ने बुझ्छन्’ पानी व्यवसायमा निरन्तर एक दशकदेखि संगालेको अनुभव साझा गर्दै झाले न्यूजआजसँग भने, ‘त्यसपछि लगानी उपर गर्नकै लागि भएपनि जस्तो पायो त्यस्तै पानी प्याकगरी बेच्न थाल्छन् । बेच्नेले त पायो, उपभोक्ताले पैसा तिरेर पनि अशुद्ध्रै पानी पिउन बाध्य भए ।’

जनकपुर नजिकै मिथिलाविहारी नगरपालिका –१० स्थित ठेरामा आफूले सञ्चालन गरेको पानी उद्योग अवलोकन गर्न हरेक उपभोक्ता तथा सरोकारवाला निकायलाई झाले आग्रह गरे । उनले व्यवसायको नाउँमा कसैको स्वास्थ्य जस्तो अति संवेदनशिल विषयसँग खेलवाड गर्ने अधिकार कसैसँग नभएको पनि जिकिर गरे ।

सरकारी निकायदेखि होटल सञ्चालन गर्नेहरुले पनि सस्तो पाउने चक्करमा गुणस्तरहिन पानी उपभोग गरिरहेको देख्न सकिन्छ । ‘महँगो किन भयो ? वा सस्तो किन भेट्यो ?’ भन्ने विषयमा अध्ययन गर्नुको साटो जसले सस्तो दियो उसैको पानी खरिद गरेर पढेलेखेकाहरुले पनि मुर्खता देखाइरहेको झाको भनाई छ ।

Facebook Comments Box
    ट्याग: