‘चौक नामकरण’ मा सद्भाव कायम राख्न ढुङ्गानाको आग्रह

सबैला (धनुषा) । राष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेस अनुशासन विभागका प्रमुख आनन्द ढुङ्गानाले चौकको नामकरण विवादलाई साम्य पार्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
चौक नामकरणकै विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि सबैला नगरपालिका –९ मा जातीय सद्भाव बिथोलिने अवस्था आएपछि नेता ढुङ्गानाले बुधबार घटनास्थल अनुगमन गरेका हुन् । उनले पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुलाई कोल्हुवामोड र भठिहनमा भेटेर सद्भाव कायम राख्न अनुरोध गरे ।
ढुङ्गानाले सम्बन्धित वडाका अध्यक्ष मनिष राय र सामाजिक अगुवाहरुलाई पनि यस्तो विवादलाई थप बढ्न नदिन संयमता अपनाउँदै सामाजिक एकताको लागि गम्भिर बन्न आग्रह गरे । चौकको नामकरणको सवालमा स्थानीय सरकारले समय मागिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका ढुङ्गानाले धैर्यता राख्न सम्बन्धित सबै पक्षलाई सचेत गराए ।
‘समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीको अगुवाईमा जिल्ला सुरक्षा समिति, प्रहरी प्रमुख, नगर प्रमुखसहित स्थानीय दुवै पक्षका प्रतिनिधिहरु बसेर दुई महिनाभित्र कार्यपालिकाबाट निर्णय गरी कानुन बमोजिम चौकको नामकरण गरिने सहमति भएको छ’ ढुङ्गानाले भने, ‘राजनीतिक प्रतिनिधि र नागरिक समाजले मिलेर समस्या मिलाउनका लागि अग्रसरता लिनुहोस्, थप सहयोग गर्न हामी पनि तयार छौं ।’
यस अघि सोही विषयमा चर्केको विवादमा गोली चलेको थियो । गोली लागेर घाइते भएकालाई अस्पतालमै भेटेर नेता ढुङ्गानाले रिपोर्ट लिएका थिए । मंगलबार फेरि कमला नदीमा शवदाहको क्रममा दुई पक्षबीच तनाव भएको थियो । त्यहाँ पनि चौकको नामकरण विषयलाई नै लिएर तनाव भएको सुनेपछि नेता ढुङ्गानाले समुदायसँग भेटेर थप द्वन्द्व भड्किन नदिन सचेत गराएका हुन् । उनले यस्ता विषयलाई निरुत्साहित गर्न सरोकारवालाहरुलाई आग्रह गरे ।