श्रीमद्भागवतले जोड्दै विछोडिएको समाज

रघुनाथपुर । धनुषाको सबैला नगरपालिकास्थित रघुनाथपुरमा रामनवमी अवसरमा आयोजना हुन लागेको श्रीमद्भागवत महापुराण कथावाचन सप्ताहले विछोडिएको समाजलाई जोडेको छ ।

चैत २४ गतेदेखि ३० गतेसम्म आयोजना हुने उक्त सप्ताहमा सहभागी हुन साविक रघुनाथपुर घर भई हाल काठमाडौं, जनकपुरलगायत विभिन्न सहरमा स्थापित भएका व्यक्ति, परिवार भेला हुँदैछन् । यसका लागि आयोजक श्री लक्ष्मी हरिहरनाथ मन्दिर धर्मशाला संरक्षण समितिले उनीहरुलाई घर–घरमै पुगेर आमन्त्रण गरेका छन् ।

करिब दस लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कथावाचन सप्ताहले गाउँमा सुविधासम्पन्न धर्मशाला निर्माण र सामुदायिक शिक्षा सुधार अभियानमा सहयोग पुग्ने अपेक्षा रहेको आयोजक समिति अध्यक्ष विरेन्द्र महतोले बताए । उनले रघुनाथपुर गाउँमा जन्मे, हुर्केर विभिन्न सहरमा स्थापित रहेका सबैलाई यस अवसरमा भेला गर्ने योजना अनुरुप तयारीमा लागेको जानकारी दिए ।

साविक रघुनाथपुर निवासी भएपनि घरद्वार बेचेर वा जग्गा भएपनि बस्ने घर नहुनेहरुका लागि समुदायस्तरमै ‘होमस्टे’ को अवधारणामा बासको व्यवस्थापन गर्न लागिएको आयोजक समिति सदस्य विनोद पालले जानकारी दिए । उनले यो सप्ताहबाट धर्मशाला निर्माणसँगै सामुदायिक शिक्षामा सुधार कार्यमा टेवा पुग्नुबाहेक पनि लाभ हुने प्रष्ट्याए ।

‘साविक रघुनाथपुरबासीहरु जो विभिन्न प्रयोजनको सिलसिलामा बाहिरै सहरमा स्थापित भए उहाँहरुलाई चाँडबाँडको बेला पनि घर छोडेर आउन भ्याइरहेको हुँदैन । त्यस्ता व्यक्तिहरु समेत सबै गाउँबासीलाई कथावाचन सप्ताहको बहानाले जोड्न सकियो, यो पुनर्मिलन एउटा उपलब्ध हो’ पालले भने, ‘सामाजिक लगानीमा भौतिक विकासँगै सामाजिक विकासमा सहयोग पुग्ने अर्को उपलब्धी हुँदैछ । त्यस्तै, श्रीमद्भागवत महापुराण कथावाचनले समाजमा सत्सङको प्रबद्र्धन पनि हुने भएकाले यो उत्तम अवसर हो ।’

हाल हरिहरनाथ मन्दिर पछाडी निर्मित भुँइतल्ला भवनमा पहिलो तल्लाका लागि छ वटा डिलक्स कोठा निर्माण गर्न छ जना दाता तयार भएको सप्ताहका लागि गठित आर्थिक व्यवस्थापन उपसमिति संयोजक जगदिश पूर्वेले जानकारी दिए । उनले धर्मशालाको माथिल्लो तल्लामा ट्रस्ट निर्माण लगायत काममा आर्थिक सहयोग जुटाउनुका साथै अध्यात्मको माध्यमले समाजलाई जोड्ने र सकारात्मक सोचको विकासमा थप सहयोग हुने बताए ।

Facebook Comments Box
    ट्याग: