मधेशका भौतिकमन्त्री यादवको नयाँ खुलासा

जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले गर्दै नगरेको कामको नाउँमा खाएको करौड रकम पूर्वमन्त्रीहरुसँग असुल्न लागेको खुलासा गरेका छन् ।

शुक्रबार जनकपुरस्थित नेपाल टेलिकमको सभाहलमा आयोजित नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२ औं प्रादेशिक अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो खुलासा गरेका हुन् ।

‘पूर्व अर्थमन्त्रीले रातो किताबमा योजना राखेवापत उठाएको रकमवारे प्रश्न उठ्दा र गर्दै नगरेको कामको नाउँमा खाएको बेरुजु असुल्न खोज्दा वर्तमान सरकारविरुद्ध योजनाबद्ध प्रहार भइरहेको छ’ मन्त्री यादवले भने, ‘उहाँहरुले छानबिन समिति गठनको कुरा गर्दैहुनुहुन्छ । हामीले अझ शक्तिशाली न्यायिक समिति बनाएर विगत सात वर्षसम्म सरकारले गरेको सबै कामको छानबीन गरी पारदर्शी हुनुपर्ने अडान लिएका छौं ।’

अदालतबाट संसदीय क्षेत्र विकास कोष खारेज गरिएपछि अघोषित रुपमा सांसदहरुको सिफारिसमा राखिएको योजना कार्यान्वयनमा कहीँकतै समस्या नरहेको उल्लेख गर्दै मन्त्री यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयमा योजना बेच्ने आरोप पुरै निराधार भएको जिकिर गरे । उनले भने, ‘अब गर्दै नगरेको सुराकी भत्ता फिर्ता गर्नुपर्ने र बेरुजु ठहर भएको इन्धनको रकम सरकारको खातामा बुझाउन ताकेदा गर्दा हामी उपर अनेक आरोप लगाउन पन्छिने दाउ मात्रै हो ।’

सुराकी नै नगरेको भत्तावापत तीन लाख रुपैयाँ बुझेका पूर्व मुख्यमन्त्रीले उक्त रकम फिर्ता गरिसकेपनि उनकै क्याविनेटका अन्य मन्त्रीहरुले अहिलेसम्म फिर्ता गर्न अग्रसरता नदेखाएको मन्त्री यादवको स्पष्टोक्ति थियो । उनले यस्ता रकम असुल्न पत्र तयार गरिसकेको पनि खुलासा गरे ।

संसदीय क्षेत्र विकास कोषवापत एमाले २३९ योजना, नेपाली कांग्रेस २३९ योजना, जसपा १३८ योजना, जनमत १७३ योजना, लोसपा ९१ योजना, माओवादी ६३ योजना, एकीकृत समाजवादी पार्टीले ५५ योजना, राप्रपाले ४ योजना, नेपाल समाजवादी पार्टीले २ योजना, नागरिक उन्मुक्ति पार्टीले ३ योजनागरी कुल १ हजार ९७ योजना पाएको जानकारी मन्त्री यादवले दिए । यी बाहेक बजेट बनाउने बेलैमा खरिदबिक्री भएको योजनाहरु सम्बन्धित पक्षलाई कुनै हालतमा पत्र उपलब्ध हुन नदिने र तोकिएको स्थानमा पारदर्शी तरिकाले कार्यान्वयन गरिने उनले दावी गरे ।

Facebook Comments Box
    ट्याग: