सबैलाका राजकिशोर यादव एमाले त्यागेर कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा (एमाले) कानुन विभागका केन्द्रीय सदस्य राजकिशोर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता यादवलाई पार्टी प्रवेश गराएका हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ स्थित सबैला नगरपालिका –६ निवासी यादव कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाको समुपस्थितिमा शनिबार पार्टी प्रवेश गरेका हुन् ।
एमालेको कानुन विभाग सदस्य यादव अनेरा स्ववियूका पूर्व निर्वाचित केन्द्रीय सदस्य थिए । नेपाली कांग्रेसको लोकतान्त्रिक प्रतिबद्धता र सिद्धान्तले आफुलाई आकर्षित गरेको यादवले बताए ।
उनले भने, ‘सुशासन र जनहितका लागि राजनीतिलाई आत्मसात गरेपछि नेपाली कांग्रेस उपयुक्त पार्टी रहेको पाएँ र आज विधिवत रुपमा प्रवेश गरेको छु ।’
उनी २०४९ मा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनका निर्वाचित केन्द्रीय सदस्य तथा कानुन व्यवसायीहरुको केन्द्रीय छाता संगठन नेपाल वार एशोसिएशनका २०६३-०६६ मा कार्यकारिणी सदस्यमा निर्वाचित सदस्य हुन् ।
अधिवक्ता यादवलाई सभापति देउवाले पार्टीमा प्रवेश गराएपछि सहमहामन्त्री यादव र पार्टीका अनुशासन विभाग प्रमुख ढुङ्गानाले स्वागत गरेका छन् ।