लयमा फर्किदै मधेश कृषि विश्वविद्यालय

राजविराज । राजनीतिक खिचातानीले उथलपुथल भएको मधेश कृषि विश्वविद्यालय उपकुलपति र रजिष्ट्रारको पुनरागमनसँगै लयमा फर्किन थालेको छ ।

मधेश सरकारले प्रदेश गौरवको योजना अन्तर्गत स्थापना गरेको कृषि विश्वविद्यालय पछिल्लो केही समययता जसपा–जनमत शक्ति संघर्षको चपेटमा परेको छ । दलीय प्रतिस्पर्धाकै सिकारमा परेको विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिष्ट्रार डा. श्रीभगवान ठाकुरलाई गत फागुन २० गते कुलपतिको हैसियतमा सिनेटको बैठक बोलाएर मुख्यमन्त्री सतिश सिंहले पदमुक्त गरिदिएका थिए ।

सिनेटले कानुनविपरित गरेको उक्त कार्य विरुद्ध सर्वोच्च अदालत पुगेका उपकुलपति डा. महतो र रजिष्ट्रार डा. ठाकुर पदमा पुनर्वहाल भएका छन् । पुनर्वहालीसँगै अन्यौलमा परेको विश्वविद्यालयका प्रशासनिक गतिविधिलाई तदारुकतासाथ अगाडी बढाएका छन् ।

गत असोजमै लिइसक्नुपर्ने भएपनि सिनेटबाट बजेट पारित हुन नसकेको लगायत कारणले रोकिइरहेको बिएस्सीएजी (अनर्स) तेस्रो ब्याचका लागि प्रवेश परीक्षा तत्काल सञ्चालन गर्ने निर्णय गरेको छ । अदालतको आदेशपछि विश्विद्यालयमा हाजिर भएकै दिन बिहीबार उपकुलपतिको अध्यक्षतामा बैठक बसी चैत २३ गते प्रवेश परीक्षा लिने निर्णय गरेको रजिष्ट्रार डा. ठाकुरले जानकारी दिए । ५० सिटका लागि लिइने उक्त प्रवेश परीक्षा दिन १ सय ११ विद्यार्थीले आवेदन दिएका छन् ।

यस्तै, मधेश कृषि विश्वविद्यालय अन्तर्गत सञ्चालित कृषि महाविद्यालयको दोस्रो ब्याचको दोस्रो सेमेष्टर र पहिलो ब्याचको चौथो सेमेष्टरको परीक्षा लिने मिति पनि तोकेको छ । यी दुवै परीक्षा चैत २० गतेदेखि सञ्चालन गरिने डा. ठाकुरले जानकारी दिए ।

शिक्षक तथा कर्मचारी सहित उपस्थित रहेको विश्वविद्यालय बैठकले परीक्षा सञ्चालनका लागि उपप्राध्यापक सन्तोष सेन चौधरी, डा. एकराम हुसेन र अविनाश कुमार यादवलाई नेतृत्व दिने निर्णय गरेको छ ।

उपकुलपति डा. महतो आफै पनि कक्षा सञ्चालन तथा विद्यार्थीलाई फिल्ड भ्रमण लगायत कार्यक्रममा अग्रसरता लिइरहेका छन् । अदालतबाट पुनर्वहाल भएपछि डा. महतोले अन्यौलमा रहेका विद्यार्थीहरुलाई अध्ययनका लागि प्रोत्साहित गर्न आफै कक्षा लिन थालेको बताए ।

Facebook Comments Box
    ट्याग: