मधेश कृषि विश्वविद्यालयमा डा.ठाकुरलाई भव्य स्वागत

राजविराज । मधेश कृषि विश्वविद्यालयको रजिष्ट्रार पदमा डा.श्रीभगवान ठाकुर बिहीबार दोस्रो पटक पुनर्वहाल भएका छन् ।

आफुलाई अकारण बर्खास्त गरेको विश्विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंहविरुद्ध बुधबार सर्वोच्च अदालतबाट आदेश भएपछि डा. ठाकुरले एकै कार्यकालमा दोस्रो पटक पदमा पुनर्वहाल हुनुपरेको हो ।

अदालतको आदेशपछि बिहीबार विश्विद्यालयमा पुग्दा डा. ठाकुरलाई त्यहाँस्थित पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थितिबीच भव्य स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै डा. ठाकुरले यो विषयलाई जीत र हारको रुपमा नलिई कानुन बमोजिम भएको बुझ्न आग्रह गरे । तर, अदालतको यो आदेशले यो देशमा न्याय अहिलेपनि जीवन्त रहेको महसुस भएको उनको प्रतिक्रिया थियो ।

डा. ठाकुरले भने, ‘यो विश्वविद्यालय स्वायत्त निकायको रुपमा रहेपनि हामीले मधेश प्रदेश सरकारकै एक अङ्गको रुपमा बुझिरहेका छौं । सरकारको हरेक निर्णयलाई सम्मान गर्दै विश्वविद्यालयको समग्र प्रगतिमा दत्तचित्त भएर अघि बढ्ने हाम्रो कर्तव्य हो ।’

काम गर्ने सिलसिलामा कहिलेकाहीँ प्राविधिक समस्याहरुको सामना गर्नुपर्ने स्वभाविक प्रक्रिया रहेको उल्लेख गर्दै डा. ठाकुरले मधेशमा कृषि विश्वविद्यालय स्थापना हुनु नै गौरवको विषय रहेको बताए । उनले थपे, ‘यो मधेश प्रदेश सरकारको गौरवको योजना हो भने मधेशी जनताका लागि धरोहर हो । यस विश्वविद्यालयको विकासमा हामी सबै मिलेर अघि बढ्नुको विकल्प छैन ।’

विश्वविद्यालयका रजिष्ट्रार डा. ठाकुरले राम्रो गर्दागर्दै पनि सिनेटबाट भएको पछिल्लो निर्णयप्रति तत्काल चित्त दुखेको उल्लेख गर्दै अदालतबाट भने न्याय पाएपछि थप उर्जावान भएर काम गर्न मनोबल बढेको बताए । उनले विश्वविद्यालयको लक्ष्यप्राप्तिका लागि एक पाइलापनि पछि नहट्ने प्रतिबद्धता दोहोर्याए ।

विश्वविद्यालयका कम्प्यूटर अपरेटर विनोद कुमार ठाकुरले रजिष्ट्रार डा.ठाकुरलाई स्वागत गर्दै उनको पुनरागमनले उत्साहित भएको बताए । उनले भने, ‘यो विश्वविद्यालयलाई एउटा उचाईमा पुर्याउन हाम्रो टिमले राम्रो गरिरहेको बेला सिनेटबाट अप्रिय निर्णय हुन पुगेको थियो । तर, अदालतले सही गरेको अनुभूति भइरहेको छ ।’

उपप्राध्यापक डा.एकराम हुसेनले कागजबाट सञ्चालन भएको विश्वविद्यालयलाई आजको यो अवस्थामा ल्याइपुर्याउन वर्तमान टिमले निकै उर्जा खर्चेको बताए ।

अर्का उपप्राध्यापक सन्तोष सेन चौधरीले कृषि विश्वविद्यालय स्थापना भएदेखि डा. महतो र डा. ठाकुरको अतुलनीय योगदानकै कारण दोस्रो ब्याचको पनि अध्ययन अध्यापन अघि बढ्न सफलता प्राप्त भएको बताए ।

उनले राम्रो टिमस्प्रिटले राम्रो गरिरहेको बेला सिनेटबाट भएको निर्णयबाट आफुहरु तत्काल विचलित भएपनि अदालतको आदेशसँगै पुनः उत्साहित भएको प्रतिक्रिया दिए ।

Facebook Comments Box
    ट्याग: