मुख्यमन्त्रीको ‘गोलाप्रथा’ प्रस्तावविरुद्ध शिक्षक

चैत ७ गतेदेखि देशभर सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित र व्यवस्थित बनाउन भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले चासो देखाइरहेका छन् । परीक्षा सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्डले आवश्यक नीति, नियम बनाएर अघि बढिरहेको बेला मधेश प्रदेश सरकारले नियमविपरित हस्तक्षेप गर्न खोजेको भन्दै विरोध सुरु भएको छ । परीक्षाको अन्तिम तयारी पुरा भइसकेपछि मुख्यमन्त्रीले केन्द्राध्यक्ष नियुक्तिमा देशभरमा लागु भइरहेको नियम विपरित स्तक्षेप गर्न खोजिएको गुनासो सरोकारवालाको छ । यसै सन्दर्भमा नेपाल शिक्षक संघका निवर्तमान मधेश प्रदेश अध्यक्ष एवम् नेपाल ट्रेड यूनियन कांग्रेसका राष्ट्रिय सदस्य मेघनाथ यादवसँग न्यूजआजका लागि सुरेश यादवले गरेको कुराकानीको सम्पादित अंशः
मधेश प्रदेशमा एसईई सञ्चालनको तयारी कस्तो भइरहेको छ ?
जिल्लास्तरमा परीक्षा समन्वय समिति छ । उक्त समितिले परीक्षा बोर्डले निर्धारण गरेको मापदण्ड अनुरुप तयारी गरेको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्रीजीले आफ्नो नाम चर्चामा ल्याउनका लागि एसईई निर्देशिका विपरित हस्तक्षेप गर्न खोजेको देखिन्छ, यसले परीक्षा सञ्चालनको प्रक्रिया नै अन्यौलमा परेको देखिन्छ ।
मुख्यमन्त्रीको हस्तक्षेप भन्नुभयो, कसरी ?
परीक्षा निर्देशिका बमोजिम सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको बेला आठवटै जिल्लाका शिक्षा समन्वय इकाई प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुलाई बोलाएर निर्देशिका विपरित केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष चयन गर्न मुख्यमन्त्रीजीले निर्देशन दिनुभयो । आज ३ गते बितिसक्यो । ७ गतेदेखि परीक्षा लिनका लागि ६ गतेसम्म केन्द्राध्यक्षहरु जिम्मेवारी वहन गरिसक्नुपर्ने हो । अन्तिम समयमा सम्बन्धित विद्यालयका प्राधानाध्यापकले सम्हाल्नुपर्ने जिम्मेवारी फरक तरिकाले तोक्न पर्याप्त समय पनि छैन । यसका लागि आवश्यक समन्वय पनि हुन सकेन । अब व्यवहारिक रुपमा सम्भव नै नदेखिएको काम गर्न कर गरेपछि परीक्षा सञ्चालन प्रक्रिया नै प्रभावित हुन सक्ने देखिन्छ ।
केन्द्राध्यक्ष चयन गर्न कस्तो फरक तरिका भनिरहनुको छ मुख्यमन्त्रीले ?
गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न भनिरहनुभएको छ जुन व्यवहारिक रुपमा सम्भव देखिदैन । सरकारले उपयुक्त नीति, नियम बनाएर यस्ता विषयमा निर्णय लिनुपर्नेमा गोलाप्रथा भनेर अपरिपक्व र जगहसाइँको काम गर्दैछ प्रदेश सरकारले । यस्तो कतै सुन्नुभएको छ ?
अब के हुन्छ ?
प्रदेशभर क्रियाशिल शिक्षकहरुको संघ, संगठन र छाता संगठनको रुपमा रहेको महासंघ र महासंघको अनुपस्थितिमा मधेश प्रदेशमा संयुक्त आन्दोलन परिचालन समिति रहेको छ । पूर्ववत प्रक्रिया अनुरुप केन्द्राध्यक्ष चयन गरी परीक्षा सञ्चालन भएन भने यी संघ, संगठनहरु सामुहिक रुपमा परीक्षा बहिष्कार गर्न पनि सक्छ । तर, यस्तो हामी चाहँदैनौं । यसका लागि सरकारले पनि हामीलाई बाध्य नपारोस् ।
मुख्यमन्त्रीले एसईईलाई मर्यादित बनाउने कुरा गरिरहनुभएको छ यसमा तपाईहरुको आपत्ती किन ?
प्रदेश सरकार होस् कि स्थानीय सरकार वा परीक्षा समन्वय समितिले पनि परीक्षालाई मर्यादित बनाउन ध्यान दिनुपर्छ । हामीले त झन् परीक्षालाई मर्यादित बनाउन दत्तचित्त भएर लागिरहेका छौं । तर, परीक्षा मर्यादित गर्ने नाउँमा परीक्षार्थीलाई आतंकित गर्ने, परीक्षामा लेखिरहेका विद्यार्थीहरुमा भय सिर्जना गर्ने किसिमले हुलका हुल हतियारधारीहरु भित्रबाहिर गर्नु उचित होइन नि । केन्द्राध्यक्ष चयनको प्रक्रियामा फेरबदल गर्ने सवालमा पूर्व तयारीको बेला सरकारले नीति लिन सक्नुपथ्र्यो नि । त्यो नगरी परीक्षा सञ्चालन हुने बेलामा नयाँ अभ्यास गर्ने र केन्द्राध्यक्ष तथा निरिक्षकहरुलाई अनाहक दबावमा पार्ने काम गर्नुभएन भन्ने हाम्रो भनाई हो ।
तपाईको विचारमा परीक्षालाई कसरी मर्यादित बनाउन सकिन्छ त ?
परीक्षा सञ्चालनको सम्पूर्ण तयारी पुरा भइसकेको छ । माथि राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको निर्देशिका छ । उक्त निर्देशिका अनुसार जिल्ला परीक्षा समन्वय समिति छ । अहिलेसम्म जे जसरी परीक्षा सञ्चालन हुँदै आएको छ सोही प्रक्रियालाई अझ पारदर्शी र मर्यादित बनाएर कार्यान्वयन गर्न सक्नुपर्ने हो । निर्देशिका नै फेर्नुपर्ने हो भने यो परीक्षालाई आलोचनात्मक ढंगले अध्ययन र अनुगमन गरी अगामी दिनमा आवश्यक परिमार्जन गरी अघि बढ्न सकिन्छ । यसका लागि हाम्रो तर्फबाट पनि साथ र सहयोग हुनेछ । तर, केन्द्राध्यक्षलाई दबावमा पार्ने, परीक्षा निरिक्षकहरुलाई त्रसित बनाउने र परीक्षार्थीलाई समेत भयभीत बनाएर परीक्षा सञ्चालन गर्नु उचित हुँदैन भन्ने मेरो स्पष्ट भनाई हो । यसमा हामी सम्पूर्ण शिक्षकहरु प्रष्ट छौं ।