‘महामूर्ख’ बनाइएपछि मुख्यमन्त्रीले भने ‘धन्यवाद’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई मिथिला नाट्यकला परिषद्ले महामूर्खको उपाधी दिएको छ ।
होली पर्वको पूर्वसँध्यामा प्रत्येक वर्ष मनाउँदै आएको महामूर्ख सम्मेलनमा शुक्रबार जनकपुरधामस्थित राम मन्दिर परिसरमा मुख्यमन्त्री सिंहलाई यस वर्षको महामूर्ख घोषणा गरियो ।

कार्यक्रमका प्रमुख अतिथिको आसनमा रहेका मुख्यमन्त्री सिंहलाई तरुलको माला लगाइदिएर महामूर्खको उपाधी प्रदान गरिएको थियो । तीन तहकै सरकार कतै कानुन अभावमा त कतै कर्मचारीको सहयोग नपाएर अस्तव्यस्त भइरहेको प्रतिकुल बेलामा पनि ज्यानमारा अस्पतालहरुलाई थोरै भएपनि सचेत गराउने अभियान चलाए वापत मुख्यमन्त्री सिंहलाई सम्मानस्वरुप महामूर्खको उपाधी प्रदान गरिएको कार्यक्रम सञ्चालक श्यामसुन्दर शशिले बताए ।
सम्मेलनमा झारखण्डबाट आएका मैथिली कवि–साहित्यकार सियाराम झा ‘सरस’ लाई पटमुर्खको उपाधी प्रदान गरियो । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले हराशंखको उपाधी पाए ।
सिरहा निवासी लेखक, साहित्यकार रामरिझन यादवलाई लोढाशंकरको उपाधी प्रदान गरियो भने मधेश प्रदेशका स्वास्थ्य सचिव राजेश कुमार मिश्रलाई बालबोधको उपाधी दिइयो ।
त्यस्तै, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णलाई ब्रजकिट, जनकपुरका परिचित डाक्टर रामविनय चौधरीलाई ठपसुर्का, मिथिला कलाकर्मी सितादेवी कर्णलाई गणपसारनि र भेटेरिनरी डाक्टर पिंकी मण्डललाई मन्तोरियाको उपाधी प्रदान गरियो ।
जनकपुर वार एशोसिएशनका अध्यक्ष विमल मिश्रलाई पवित्र पापी, प्रधानाध्यापक कृष्णनन्दन चौधरीलाई सोटानन्द, जनकपुर उद्योग, वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारीलाल, धनुषा पत्रकार महासंघका अध्यक्ष पुरन साहलाई डपौरशंख र सम्वाद फाउन्डेशनका अध्यक्ष कुमार भाष्करलाई तरघुसनाको उपाधी प्रदान गरी सम्मान गरियो ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले बिहीबार होरी गायन प्रतियोगिता आयोजना गरेको थियो ।