भारतीय अपराधीले सहजै पाउँछन् नेपाली नागरिकता

जनकपुरधाम । भारतमा ‘मोस्ट वान्टेड’ रहेका कुख्यात अपराधी जोगा डन भन्ने जोगिन्दर गेओङले नेपाली नागरिकता र पासपोर्टको आधारमा फिलिपिन्स भागेको खुलेको छ।
भारतीय प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा फिलिपिन्सबाटै पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
दिल्ली पुलिसले अनुसन्धानको क्रममा सोधपुछ गरेपछि कुख्यात अपराधी जोगिन्दर सात वर्ष अघि नेपाल आएर बस्न थालेको र दुई वर्षमा नेपाली नागरिकता र सोही नागरिकताको आधारमा पासपोर्ट बनाएर फिलिपिन्स उडेको बुझिएको हो ।
जोगिन्दरले धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाएको खुलेको छ । यस अघि पनि धनुषा जिल्ला प्रशासन कार्यालयबाट नक्कली नागरिकता जारी भएको भेटिएपछि अनुसन्धान हुँदा कयौँ कर्मचारी कारबाहीको दायरामा परेका थिए ।
भारतीय प्रहरीले अनुसन्धानको क्रममा नेपाली नागरिकता र पासपोर्टको आधारमा फिलिपिन्स उडेको पाएपछि नेपालस्थित भारतीय दुतावासको सहयोगमा थप अनुसन्धान अगाडी बढाएको हो । नेपालको अध्यागमन विभागले पनि भारतीय कुख्यात अपराधी जोगिन्दर नेपाली नागरिकता र पासपोर्टको आधारमा पाँच वर्ष अघि फिलिपिन्स उडेको पुष्टी भएको छ ।
२०२४ फेब्रुरीमा नेपाल आएका जोगिन्दर १५ दिन बसेर पुनः फिलिपिन्स फर्केका रहेछन् । भारतमा सांसदसमेतसँग फिरौती असुलेको र कयौं नागरिकको हत्या घटनामा मुछिएका जोगिन्दरले नेपालबाट कसरी नागरिकता प्राप्त गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको नेपालस्थित प्रहरी अधिकारीले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले भने यसवारे अनभिज्ञता प्रकट गरेका छन् ।