माडरमा नारी दिवसः कृष्णप्रसाद–दिव्या कोइरालाको स्मरण

सिरहा । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा शनिबार सिरहाको माडरस्थित होटल रामाको सभाहलमा पिताजी (कृष्णप्रसाद कोइराला) र दिव्या कोइरालाको स्मरण गरियो ।
सिरहा विकास मञ्चले आयोजना गरेको ‘ऐतिहासिक तथ्यभितर छुपल सिरहा (माडर) के सत्यता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रथम राष्ट्रपति डा. रामवरण यादव र नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले सम्बोधन गरे ।
नेपाली कांग्रेस मात्रै होइन, नेपालमा कुनै पनि राजनीतिक दलको जन्म समेत भइनसकेको बेला विवि कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाले महिला अधिकारका लागि भनेर महिला समिति गठन गठन गरेका रहेछन् । त्यति मात्र होइन, माडरमा बसेर महिला तथा जनताको हितमा वकालत गरेकै कारण राज्यद्वारा देश निकाला गरी सर्वस्वहरण गरिएका कोइरालाले जतिसुकै सास्ती भोग्नु पर्दा पनि राणा शासकको अगाडी हार नमानेको स्मरण गरियो ।
दिव्या कोइराला जसले राज्यबाट सर्वस्वहरण गरिएपनि जनताको हितमा संघर्षमा होमिइन्, उनलाई आजको पुस्ताले कमसेकम नारी दिवसको अवसरमा स्मरण गर्नैपर्ने आवश्यक्ता बोध भएर माडरमै कार्यक्रम आयोजना गरेको सामाजिक अगुवा रामरिझन यादवले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले कोइराला परिवारका साहसी महिलाहरुको संघर्षबाट नयाँ पुस्ताले प्रेरणा पाउनुपर्ने बताए । उनले संघर्षको जगमा स्थापित मुलुकको संरक्षण गर्न आम नागरिकमा चेतनाको आवश्यक्ता औंल्याए ।
डा. कोइरालाले आफ्नी आमालाई सम्झिदै भने, ‘मेरी आमाले गरेको त्याग संघर्षको कारण विपि कोइराला विपि बन्नुभयो ।’ छोरी जन्मिने आशामा रहेको आफ्ना माता र पिताले आफुलाई छोराको रुपमा अनपेक्षित रुपमा पाउनु भएको स्मरण गर्दै डा. कोइरालाले थपे, ‘विपि कोइरालाको सर्वत्र गुणगान भइरहँदा आमाको योगदानलाई बिर्सनु भएन ।’
यतिबेला सरकारले महिलालाई ३३ प्रतिशत आरक्षण दिएर न्याय गर्न नसकेको टिप्पनी डा. कोइरालाको थियो । उनले महिलालाई आरक्षणको साटो स्वतन्त्रता र उनको क्षमताको कदर गरिनुपर्ने जिकिर गरे ।
आफुले चार पटक आम निर्वाचन जितेर एक पटक पनि मन्त्री बन्न नपाएको चर्चा गर्दै उनले एक पटक सरकारमा पुगेर महिला अधिकार र गरिबी विरुद्ध केही गर्नुपर्ने सोचमा रहेको बताए ।
विपिले विगतमा गरेको कामको चर्चा आजसम्म भइरहनु सकारात्मक रहेको उल्लेख गर्दै उनले यस्तै ऐतिहासिक काम आफ्नो जीवनमा गरेर जान चाहेको उनको भनाई थियो ।
सितादेवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले नेता विन्दा पाण्डे, पूर्व शिक्षा राज्यमन्त्री बोधमाया यादव, मधेश प्रदेशकी सांसद रेखा ठाकुर, सर्लाहीस्थित ईश्वरपुरका नगर प्रमुख मनोज आचार्यलगायतले धारणा राखेका थिए भने सहप्राध्यापक विजयप्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।