कविता प्रतियोगितामा प्रितीको चम्किलो सफलता

रामअशिष यादव

धेश प्रदेश – कलममा शक्ति हुन्छ, भावनामा गहिराइ हुन्छ, र शब्दमा संसार बदल्ने क्षमता हुन्छ। यही क्षमताको उजागर गर्दै धनुषाको बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयकी विद्यार्थी प्रिती अधिकारीले राष्ट्रिय स्तरको कविता प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै विद्यालय, गाउँपालिका र सम्पूर्ण मधेशलाई गौरवान्वित तुल्याएकी छन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) र शरणार्थी मामिला उच्च आयोग (UNHCR) द्वारा आयोजित यस प्रतियोगितामा प्रिती अधिकारीले आफ्नो सशक्त अभिव्यक्तिमार्फत उत्कृष्ट प्रस्तुति दिएकी थिइन्। कक्षा ८ ‘B’ मा अध्ययनरत प्रितीले स्थानीय तथा प्रदेश स्तरीय चरणहरू पार गर्दै राष्ट्रिय मञ्चमा आफ्नो स्थान बनाएकी हुन्।

विद्यालयका लागि ऐतिहासिक क्षण

विद्यालय प्रशासनका अनुसार, यसअघि पनि ज्योति रानी कुमारी पासमान र काजल कुमारी यादवले राष्ट्रस्तरीय प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै विद्यालयको नाम उच्च राखिसकेका थिए। प्रिती अधिकारीको यस सफलताले विद्यालयका शिक्षक, अभिभावक र सहपाठीहरूमा हर्ष छाएको छ।

विद्यालयका प्रधानाध्यापकले भने, “हाम्रो विद्यालयका विद्यार्थीहरूले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नु गर्वको विषय हो। शिक्षामा लगानी गर्ने हाम्रो प्रतिबद्धता अझै बलियो भएको छ।”

शिक्षा क्षेत्रमा स्थानीय सरकारको योगदान

मधेश प्रदेशको धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष जयकुमार यादवले प्रिती अधिकारीको उपलब्धिलाई ऐतिहासिक क्षण भन्दै बधाई दिएका छन्।

“विद्यार्थीहरूको निरन्तर सफलता गाउँपालिकाको शैक्षिक सुधार नीति, शिक्षकहरूको मार्गदर्शन र विद्यालयको प्रेरणादायी वातावरणकै कारण सम्भव भएको हो,” अध्यक्ष यादवले भने।

उनले आगामी प्रतियोगिताकालागि समेत विद्यार्थीलाई आवश्यक सहयोग र हौसला प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष यादवको नेतृत्वमा गाउँपालिकाले विद्यालय सुधार योजना अन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धि, छात्रवृत्ति कार्यक्रम तथा सह-पाठ्यक्रम गतिविधिलाई विशेष प्राथमिकता दिँदै आएको छ।

अबको लक्ष्य – राष्ट्रिय प्रतियोगितामा शीर्ष स्थान

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले प्रिती अधिकारीको मेहनतको प्रशंसा गर्दै आगामी राष्ट्रिय प्रतियोगितामा समेत विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रिती भन्छिन्, “अबको लक्ष्य भनेकै राष्ट्रिय स्तरमा शीर्ष स्थान हासिल गर्नु हो। मेरो सफलताका पछाडि मेरो प्रशिक्षक, शिक्षक र अभिभावकको ठूलो भूमिका छ।”

स्थानीय बासिन्दा, विद्यालय परिवार र सहपाठीहरूले उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। शिक्षा क्षेत्रमा निरन्तर सुधार र विद्यार्थीहरूको सशक्तिकरणका लागि स्थानीय सरकार र विद्यालय प्रशासनको सहकार्यले अझ उज्ज्वल भविष्यको ढोका खोल्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box