‘टेण्डर रद्द’ किन ? मन्त्री भन्छन्, ‘मेरो ध्यानाकर्षण भएको छ’

जनकपुरधाम । मधेशस्थित प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको कार्यालय भित्तामा एउटा सूचना टाँसिएको छ, ‘यस केन्द्रबाट यस वर्षको औषधी खरिद प्रक्रियामै रहेकोले हाललाई कुनै पनि मेला, शिविरको लागि औषधीहरु वितरण गर्न नसकिने भएकोले क्षमाप्रार्थी छौं ।’

केन्द्रले औषधी लगायत स्वास्थ्य उपकरण खरिद गर्न गरेको टेन्डर (ठेक्का प्रक्रिया) भने रद्द गरेको छ । गत मंसिर महिनामै टेन्डरका लागि सूचना प्रकाशन गरी सुरु गरिएको प्रक्रिया अन्तिम चरणमा अचानक रद्द गरिएपछि केन्द्रलाई शंकाको नजरले हेर्न थालिएको छ ।
चालु आर्थिक वर्ष समाप्त हुन चार महिना बाँकी छ । सूचना प्रकाशन गरेदेखि सुरु गरिएको टेन्डर प्रक्रियामा पनि करिब चार महिना बितेको छ । यो आधारमा पुनः सुरुदेखि प्रक्रिया अगाडी बढाउने हो भने आर्थिक वर्षको अन्त्यमा पुगेर बल्लतल्ल औषधी खरिद हुन सक्ने देखिन्छ ।
मानव स्वास्थ्य जस्तो अति सम्वेदनशिल वस्तुको खरिद प्रक्रियामा यसरी खेलाँची गरिन्छ भने आखिर किन ? र, के का लागि ? भन्ने गम्भिर प्रश्न तेर्सिएको छ ।
प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले यसवारेमा आफ्नो ध्यानाकर्षण भएको न्यूजआजलाई प्रतिक्रिया दिएका छन् । औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रक्रिया प्रदेशमा यस अघि पनि बारम्बार विवादमा परेका छन् । अहिले पनि केही टेन्डर प्रक्रिया मुद्दाको कारण अवरुद्ध भएको छ ।
‘समयमा काम नगर्ने अनि अघि बढिसकेको प्रक्रिया पनि रोकिन्छ भने कसका लागि ?’ न्यूजआजको प्रश्नमा मन्त्री सिंहले भने, ‘यो गम्भिर विषय हो । म तत्काल आपुर्ती केन्द्रका निर्देशकलाई स्पष्टीकरण सोध्ने तयारीमा छु ।’
स्रोतको अनुसार काठमाडौंस्थित एकजना ठूला सप्लायरलाई अनुकुल हुनेगरी प्रक्रिया मिलाइदिन पुरानो टेन्डर रद्द गरिएको छ । स्पेसिफिकेशन मिलाएर सेटिङमा खरिद प्रक्रिया पुरा गर्न यस्तो गरिएको आरोप आपुर्ती केन्द्रलाई छ ।
केन्द्रका निर्देशक डा. सुनिल कुशवाहाले भने प्रक्रियामा त्रुटि रहेको बहाना देखाइरहेका छन् । ‘प्रक्रियामै केही त्रुटि थियो र रद्द गर्नु परेको हो’ उनले भने, ‘मलाई सिरहा अस्पतालको पनि जिम्मेवारी भएर व्यस्त छु । आपुर्ती केन्द्रमा आएर थप प्रष्ट गर्नेछु ।’
निर्देशक कुशवाहाले मन्त्री सिंहलाई प्रभावमा पारी एमाले नेता समेत रहेका काठमाडौंस्थित सप्लायर सुन्दर भुसाललाई टेन्डर पार्न पुरानो प्रक्रिया रद्द गरेको आपुर्ती केन्द्रकै एक कर्मचारीले बताए ।