यादवलाई चिन्ता ‘मन्त्री पदले डिप्रेशन’

जनकपुरधाम । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले केही दिनसम्म यस्तै अवस्थामा मन्त्री रहीरहे डिपे्रशनमा जान सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनीलाई उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘परिस्थिति निकै गम्भिर छ । म प्रदेशको सबैभन्दा ठूलो दलका नेताले भन्दैछु, यस्तै अवस्थामा केही दिनसम्म मन्त्री पदमा रहीरहे डिप्रेशनमा जान सक्छु ।’

मन्त्री यादवले जनकपुरमा पत्रकार आतंकले पीडित भएको दुखेसो पोखे । ‘एकजना पत्रकारको फोन आउँछ, मलाई सहयोग गर्नुस् नभए लेखिदिन्छु । अर्को पत्रकारले फोन गर्छ, मलाई फलानो योजना दिनुस्’ मन्त्री यादवले भने, ‘यो बौद्धिक व्यक्तित्वहरुको मञ्चमा यसकारण मेरो समस्या सुनाइरहेको छु ताकी तपाईहरुले पनि हामीलाई काम गर्ने वातावरण बनाइदिनुहोस् ।’

चार दलको गठबन्धनमा बनेको सरकार सञ्चालन गर्न निकै कठिनाइको सामना गरिरहनु परेको पनि उनले सुनाए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेतृत्व गरिरहेको आफुले सरकारको नेतृत्व गर्न पाउने हक भएपनि स्थिरता र विकासका लागि त्याग गरी चौथो दलको नेतृत्व स्वीकार गरी अघि बढ्न तयार भएको उनको भनाइ थियो ।

मन्त्री यादवले बेथिति विरुद्ध काम गर्न सहज नरहेको अनुभव सुनाए ।

Facebook Comments Box