वडा अध्यक्ष अनसनमा, कार्यपालिका निरीह

सबैला (धनुषा) । आर्थिक वर्ष सुरु भएको दुई तिहाई समय सक्न लाग्दा सबैला नगरपालिकाको ११ नम्बर वडामा विकासको कुनै कामै सुरु भएको छैन । बाँकी रहेको चार महिनामा पनि केही होला भन्ने आशा मर्न लागेको त्यहाँका नागरिकले बताउँछन् ।
वडा अध्यक्ष सरोज यादव गत माघ २८ देखि नगर कार्यपालिका कार्यालयको परिसरमा अनसन बसेका छन् । आफ्नो वडामा रहेको विद्यालयका लागि विद्यार्थीको संख्या आधारमा शिक्षक र वडा कार्यालयमा कम्प्युटर अपरेटरको माग गर्दै उनी अनसन बसेका हुन् ।
अनसन बसेको २२ औं दिन (सोमबार) सम्म उनको माग सम्बोधन गर्न कार्यपालिकाले अग्रसरता देखाएको छैन । तत्काल समस्या समाधान गर्न नगर प्रमुखको तर्फबाट तत्परता देखिइरहेको छैन ।
वडा अध्यक्ष यादवले अनसनको क्रममा नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुको अनुगमन गरे । विद्यार्थीको सिकाई उपलब्धी र विद्यार्थी संख्या तथा उपलब्ध शिक्षकको अवस्थावारे उनले विद्यालयहरुमा पुगेर सोधीखोजी गरेका छन् ।
‘सबैभन्दा दुरावस्था विद्यालयकै छ’ नगरपालिकाभित्र १३ वटै वडामा रहेका २५ सामुदायिक विद्यालयको अनुगमन गरिसकेपछि सोमबार न्यूजआजसँग कुरा गर्दै यादवले भने, ‘मेरो बुझाइमा शून्य दशमलव शून्य एक प्रतिशतभन्दा बढी विद्यार्थीले आफ्नो कक्षा अनुसारको सिकाइ उपलब्धी प्राप्त गर्न सकेको देखिएन ।’
सामुदायिक विद्यालयका शिक्षकलाई निजीको तुलनामा राम्रो सुविधा प्रदान गरिएपनि उपलब्धी कमजोर हुनु चिन्ताको विषय रहेको उल्लेख गर्दै यादवले भने, ‘कार्यपालिका बस्नुपर्छ कि नगरसभा त्यो बसौं र तत्काल नगरको शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक कानुन, नीति र योजना बनाऔं भन्ने मेरो माग छ ।’
आफ्नो माग सम्बोधन नभए अनसन लगायत संघर्ष जारी रहने वडा अध्यक्ष यादवले न्यूजआजसँग भने । सबैला –१ का वडा अध्यक्ष मिथिला शाह र ९ का अध्यक्ष मनिष रायले सरोजले उठाएका जायज माग तत्काल सम्बोधन गर्न कार्यपालिका र नगरसभा बस्ने वातावरण बनाउन नगर प्रमुखसँग माग गरेका छन् । कुनै पनि बहानामा शिक्षा, स्वास्थ्य तथा विकासका काम अवरुद्ध हुन नहुने वडा अध्यक्षद्वय शाह र रायको भनाई छ ।