जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

जनकपुरधाम । फागुन १६ गतेदेखि जनकपुरमा पहिलो पटक तीन दिवसीय चलचित्र महोत्सव (फिल्म फेस्टिवल) आयोजना हुँदैछ ।

संवाद फाउण्डेशनले आयोजना गरिरहेको महोत्सवमा विभिन्न दस विधाका ७८ वटा फिल्म प्रदर्शन गरिने तयारी छ । संसारका विभिन्न ११४ मुलुकका चलचित्रकर्मीहरुले ३ हजार ५ सयभन्दा बढी आवेदन दिएकोमा महोत्सवका लागि ७८ वटा फिल्म छनौट गरिएको आयोजक फाउण्डेशनका अध्यक्ष कुमार भास्करले जानकारी दिए ।

महोत्सव जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा आयोजना हुन लागेको जनाइएको छ । फागुन १६ गते बिहान १० बजे मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेपछि सुरु हुने महोत्सव तीन दिनसम्म चल्नेछ ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीहरुलाई उत्पे्ररित गर्ने तथा सांस्कृतिक विविधताको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष्य रहेको छ । ‘स्टोरिज वियोन्ड बोर्डर्स्, ह्वेयर कल्चर मिट्स सिनेमा’ भन्ने मूल नाराको साथ आयोजना हुन लागेको महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियान स्वरुप अघि बढेको भास्करले जनाए ।

तीन दिवसीय महोत्सवमा इन्टरनेश्नल प्यानोरमा, नेपाली प्यानोरमा, रिजनल प्यानोरमा र स्टुडेन्ट प्यानोरमासमेत चार विशेष श्रेणीमा चलचित्र प्रदर्शन गरिने तयारी छ ।

फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्यमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र अवसर दिन तथा फिल्म निर्माता एवम् कलाकारबीच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने महोत्सवको उदेश्य छ ।

त्यस्तै, स्थानीय र विश्व सिनेमा बीचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकहरुसम्म पुर्याउँदै अन्य देशका चलचित्र र कथाहरुसँग गहिरो सम्बन्ध जोड्ने छ । यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य र सामिप्यता बढाउन मदत गर्ने उदेश्य पनि रहेको भास्करले जनाए ।

महोत्सव आयोजना गर्न करिब ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा फिचर फिल्म, शर्ट फिल्म, फिचर डकुमेन्ट्र र शर्ट डकुमेन्ट्री प्रदर्शन गरिनेछ ।

Facebook Comments Box