ध्वनी प्रदुषणरहित वातावरणमा नेतापुत्रको मटकोर

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल सरकारका पूर्व मन्त्री महेन्द्र यादवका पुत्र डा. विकासको मटकोर मंगलबार सादगीपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
पार्टीका मधेश प्रदेश सभापति, मधेश सरकारका पूर्व मन्त्री एवम् प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादवकी पुत्री डा. सुस्मितासँग डा. विकासको विवाह फागुन २२ गते हुने तय भएको हो ।
नेता महेन्द्र यादवले समाजमा सकारात्मक सन्देश जानेगरी ध्वनी प्रदुषणमुक्त वातावरणमा मटकोर गरिएको बताए । मटकोर वैवाहिक कार्यक्रम अन्तरगत सनातन धर्म अनुसारको एक विधि हो ।
यो आस्थापुर्वक मनाउनुपर्ने भएपनि पछिल्लो समय विकृतिको रुपमा डिजे आतंक आयातित संस्कृतिको रुपमा भित्रिने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको तर्क छ ।
नेता यादवले धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकास्थित बनिगामामा रहेको पुख्र्यौली घरबाट छोराको मटकोर गरेका हुन् ।
उता बेहुलीका पिता कृष्ण यादवले पनि सभ्य वातावरणमा वैवाहिक कार्यक्रम आयोजना गर्न लागेको बुझिएको छ । विवाह जस्तो पवित्र कार्यमा पनि पछिल्लो समय आडम्बरको रुपमा होटलमा खर्चिलो बनाइरहेको परम्परालाई निरुत्साहित गर्दै पुरानो परम्परालाई निरन्तरता दिनेगरी गाउँमै छोरीको विवाह गर्न लागेको हो ।
हिन्दु संस्कृतिको अधिनमा विधिपुर्वक वैवाहिक कार्यक्रम गरेर बेहुला र बेहुली दुवै पक्षले तडकभडक नगरी सादगीपूर्ण वातावरण कायम राख्न सचेत रहेको बताइएको छ ।
