महिलाप्रधान र मधेशकेन्द्रीत फिल्म ‘राजागंज’

ज्योति यादव
जनकपुरधाम । फिल्मको नाम ‘राजागंज’ । अन्तर्राष्ट्रिय फिल्मीजगतमा चर्चित नाम ‘पूजा, सर’ । भाषा ‘मैथिली, नेपाली, हिन्दी’ । फिल्मको कथा र सुटिङ केन्द्र ‘मधेश’ ।
अगामी चैत १ गतेदेखि सिनेमाहलहरुमा एकैसाथ प्रदर्शन हुन लागेको अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत नेपाली फिल्म हो ‘राजागंज’ । विश्वकै प्रतिष्ठित फिल्म फेस्टिवलहरु भेनिस, बुसान र टालिन ब्ल्याक नाइट्समा अति प्रंशसा पाएको ‘राजागंज’ अब नेपालका सिनेमाहलहरुमा चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।
नेपालमा ‘राजागंज’ नामले प्रदर्शन हुन लागेको यो फिल्मलाई अन्तर्राष्ट्रिय जगतमा पूजा, सर भनेर प्रसिद्धि पाएको छ । फिल्ममा अभिनय गरेकी मुख्य पात्रको नाम पूजा (महिला) ले आफुलाई म्याडम होइन सर भनेर सम्बोधन गर्न चाहना राखेको आधारमा पूजा सर भनिएको हो ।
‘राजागंज’ नाम किन परेको भनेर फिल्म निर्माताहरुले यकिन नखुलाएपनि राजा जनकको शहर जनकपुरलाई संकेत गर्न ‘राजा’ र वीरगंजलाई सम्बोधन गर्न ‘गंज’ जोडेर फिल्मको नाम ‘राजागंज’ बनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
फिल्मी दुनियाँमा निकै चर्चा र प्रतिष्ठा आर्जन गरेका पत्रकार दीपक रौनियारले निर्देशन गरेको फिल्म ‘राजागंज’ मधेश र खासगरी जनकपुर क्षेत्रमा छायांकन गरिएको छ । फिल्ममा महिला कलाकारको बाहुल्यता रहेको फिल्मका बजार प्रबन्धक सन्देश घिमिरेले जानकारी दिए ।
फिल्मको मुख्य पात्र इन्स्पेक्टर पूजा थापाको भूमिका अभिनेत्री आशा मगरातीले निभाएकी छिन् । मोरङ बेलबारीकी मगराती धरानको अनाम नाट्य जमातबाट व्यवसायिक अभिनय यात्रा सुरु गरेकी हुन् । उनले ह्वाइट सन (सेतो सुर्य) हाईवे, कागवेनी, कर्मा, दलन, कथा मिठो सारङ्गीको लगायत चर्चित चलचित्र, टिभी सिरिज तथा रेडियो लगायत स्टेज नाटकहरुमा अभिनय गरिसकेकी छिन् ।
नेपाल प्रहरी पुरुषप्रधान भएपनि किरण बज्राचार्य, मिरा चौधरी, पूजा सिंह, विमला थापा जस्ता महिला अधिकृतहरुले छुट्टै पहिचान बनाएका छन् । यो फिल्मले प्रहरी सेवामा महिलाको योगदानलाई सम्मान गर्ने प्रयास गरेको छ ।
त्यस्तै, निकिता चण्डक, रिचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, आरती मण्डल, पुष्पा यादव, रिंकु मिश्र (गायत्री), दायाहाङ राई, विजय बराल, घनश्याम मिश्र र परमेश्वर झा लगायत कलाकारहरुको उत्कृष्ट भूमिका फिल्ममा समेटिएको छ ।


