वीरगंजका सात अस्पतालमा अनुगमन, तत्काल बन्द गर्न एक अस्पताललाई निर्देशन

वीरगंज । मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको टोलीले बुधबार वीरगंजका विभिन्न सात अस्पतालमा अनुगमन गरेको छ ।

अनुगमन टोलीले नेपाल इन्डो हस्पिटल एण्ड आइकेयर सेन्टरलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । जम्मा दुई जना कर्मचारी भेटेको त्यहाँ अस्पताल नामको बोर्ड लेखिएपनि अस्पताल जस्तो कुनै व्यवस्था नरहेकोले तत्काल बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वाथ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

भवानी अस्पताल एण्ड रिसर्च सेन्टर तथा स्पर्श मल्टि स्पेशलिटी हस्पिटललाई दुई महिनाभित्र नविकरण गराएर आवश्यक काजगात दुरुस्त गर्न निर्देशन दिइएको अधिकृत ठाकुरले जनाए । उनका अनुसार उक्त दुवै अस्पतालको नविकरण भएको देखिएन ।

साह हस्पिटल प्रालिको बोर्ड झुन्ड्याइएको अस्पताल क्लिनिकमा परिणत भएको छ । त्यहाँ अस्पतालको बोर्ड झुन्ड्याइएको देखियो तर अनुगमनको क्रममा अस्पतालको जस्तो कुनै मापदण्ड नदेखिएपछि सोधीखोजी गर्दा क्लिनिकमा रुपान्तरण भएको सम्बन्धित पक्षले जनाएको अनुगमन टोलीले जनाएको छ । त्यहाँबाट तत्काल अस्पतालको बोर्ड हटाउन निर्देशन भएको ठाकुरले जनाए ।

बुधबार अनुगमन गरिएका सात मध्ये तीन अस्पताल भने प्रक्रिया अनुरुप दर्ता भएको र नविकरण पनि गराइएको भेटेको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनका अनुसार प्रभु अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि, सर्वोत्तम अस्पताल र गण्डक हस्पिटल प्रालि दर्ता भई नियमित रुपमा नविकरण गरेको देखियो ।

Facebook Comments Box