निरंकुश मेयरविरुद्ध आन्दोलनमा उत्रिए वडाअध्यक्ष

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा एक जना वडा अध्यक्ष ९ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
नगर कार्यपालिकाको हिसाब र नीति निर्माण प्रक्रिया पारदर्शिताको माग गर्दै अघिल्लो सोमबारदेखि आन्दोलनरत सबैला –११ का वडा अध्यक्ष सरोज यादव कार्यालय परिसरमा अनसन बसेका छन् ।
नगरपालिकाबाट हुने खर्चको हिसाब सार्वजनिक गर्न माग गरेका वडा अध्यक्ष यादवको योजना नै समावेश नगरी मेयर कारी यादवले बजेट ल्याए । नगरपालिकाको आय र व्यय पारदर्शी गर्न आवाज उठाइरहेका वडा अध्यक्ष यादवले आफ्नो वडा विकासका लागि न्यायोचित बजेट माग गर्न थाले ।
केही दिन अघि शिक्षक दरबन्दी मिलानको नाउँमा ७ कक्षासम्म अध्यापन हुने ११ नम्बर वडा कार्यालयमा सञ्चालित विद्यालयमा मात्र तीन जना शिक्षक छाडेर बाँकीलाई अन्यत्रै सरुवा गरिदिए । उक्त वडा कार्यालयमा कम्प्यूटर अपरेटर पनि पठाइदिएनन् ।
जनताबाट निर्वाचित वडा अध्यक्षले कानुन र न्यायको वकालत गर्दा मेयरको घेराबन्दीमा परेपछि तत्काल वडा कार्यालयमा कम्प्यूटर अपरेटर र विद्यालयमा शिक्षक माग गर्दै अघिल्लो सोमबारदेखि नगरपालिका कार्यालय परिसरमा अनसन बसे ।
चारदिनसम्म अनसनमा बसिरहँदा पनि कार्यपालिका नेतृत्वबाट समस्या सम्बोधनको प्रयास नभएपछि उनले ट्याक्टरमा हर्न बजाउँदै विभिन्न वडाहरुमा पुगेर आफ्नो आन्दोलनको प्रचार गर्न थाले । विद्यालयहरुको अनुगमन गर्न थाले ।
वडा अध्यक्ष यादवको विद्यालय अनुगमन शैलीबाट प्रधानाध्यापक तथा शिक्षकहरु तनावमा आए । गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिकाहरुको सिकाई उपलब्धीवारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेपछि वडा अध्यक्ष यादवउपर शिक्षकहरु पनि दबाव बनाउन थाले । मेयरलाई उनीविरुद्ध एक्शन लिन सहज भयो । र, प्रमुख जिल्ला अधिकारीको सहयोग लिएर वडा अध्यक्ष यादवलाई प्रहरी नियन्त्रणमा लिइयो ।
हिजो (सोमबार) प्रहरीकै भ्यानमा जिल्ला प्रशासन कार्यालय पुर्याइएका वडा अध्यक्ष यादवलाई फागुन ९ गते मेयरसहितको सरोकारवालासँग छलफल गराउने शर्तमा नियन्त्रणमुक्त गरियो ।
मंगलबारदेखि वडा अध्यक्ष यादवले सबैला नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै बालबालिकाहरुमा परेको सिकाई प्रभाववारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका छन् ।
डा अध्यक्ष यादवले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्रै रहेर नगरपालिकाको आय र व्यय सार्वजनिक गर्न माग राख्दा अटेर गरेका नगर प्रमुख र उनका आसेपासेलाई यतिबेला घाँडो भएको देखिन्छ ।
कमिशन बिना विकास बजेट खर्च नगर्ने र शिक्षा तथा स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रमा पनि आर्थिक चलखेल जस्तो घृनित कार्य भइरहेको नगरपालिकामा वडा अध्यक्ष यादवले उठाएको मुद्दा नजायज हो भने किन रोक्न सकिएन ? जायज हो भने सम्बोधन किन नगरेको ? प्रश्न तेर्सिएको छ ।