सरकारी कर्मचारी पण्डितकै अस्पताल अवैध

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रेक्टर डा. रामनरेश पण्डितको स्वामित्वमा रहेको जनकपुर सिटी अस्पताल अवैध ठहर भएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहितको अनुगमन टोलीले अस्पतालको कागजात खोज्दा पण्डितको अस्पताल नवीकरण नरहेको देखिएको हो ।
अनुगमन टोलीले उक्त अस्पताल सञ्चालकलाई आइतबार अस्पताल दर्ता तथा नवीकरण सम्बन्धी कागजातसँगै कर्मचारीलाई भुक्तानी गरिरहेको तलब तथा गरिब, दलित तथा सीमान्तकृत समुदायलाई कानुन बमोजिम उपचारमा दिइने छुट सम्बन्धी विवरण लिएर आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
मुख्यमन्त्री नेतृत्वको टोलीले शुक्रबार साँझ जनकपुरका विभिन्न पाँच वटा अस्पतालको अनुगमन गरेको छ । यस अघि विभिन्न २६ वटा अस्पताल अनुगमन गरेकोमा पाँच वटा अस्पताल तत्काललाई बन्द गरिएको अनुगमन टोलीले जनाएको छ ।