मुख्यमन्त्रीको अनुगमनमा अस्पताल सञ्चालक पक्राउ

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य मन्त्री शत्रुधन सिंह तथा जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई सँगै लिएर निजी अस्पतालको अनुगमनलाई निरन्तरता दिएका छन् ।

गत शनिबार अनुगमनको क्रममा अवैध देखिएको अस्पताल तत्काल बन्द गरी साँचो बुझाउन गरेको आदेश पालन नगरेको भन्दै बिहीबार एक जना अस्पताल सञ्चालकलाई पक्राउ पनि गरेको छ ।

जनकपुरको भ्रमरपुरा चोकस्थित मोडर्न अस्पतालका सञ्चालक रामभरोस महतोलाई अनुगमन टोलीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । गत शनिबार अनुगमनको क्रममा रहेको मुख्यमन्त्री नेतृत्वको टोलीले मोडर्न लगायत करिब एक दर्जन अस्पताललाई अवैध ठहर गर्दै बन्द गरी साँचो बुझाउन निर्देशन दिएको थियो ।

मोडर्न अस्पतालले मुख्यमन्त्रीको निर्देशन पालन नगरेको आरोपमा महतोलाई पक्राउ गरिएको अनुगमन टोलीले जनाएको छ । मोडर्न अस्पतालजस्तै निर्देशन अटेर गर्ने अन्य अस्पतालहरुमा भने टोली दोहोर्याएर पुगेको छैन । टोलीले बिहीबार अबेर रातसम्म अनुगमन जारी राखेको छ ।

Facebook Comments Box