धनुषाधाम–इनर्वा–सुगानिकास सडक सिलान्यास

जनकपुरधाम । धनुषाधामदेखि सबैलाको इनर्वाहुँदै हंसपुर नगरपालिकाको सुगानिकाससम्मको सडक कालोपत्रे हुने भएको छ । उक्त योजनाको बिहीबार राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले सिलान्यास गरेका हुन् ।
संघीय सरकारको सहरी विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको उक्त सडक महोत्तरी इन्जिनियरिङ–रियान्स जेभीले बनाउने ठेक्का पाएको हो । यस सडक निर्माणका लागि मुल्यअभिवृद्धि कर बाहेक एक करोड ४६ लाख ६३ हजार ९३८ रुपैयाँको बजेट रहेको सहरी डिभिजन कार्यालय, धनुषाका प्रमुख डिभिजनल इन्जिनियर विनोद यादवले जानकारी दिए ।
लामो समयदेखि स्तरोन्नतिको पर्खाइमा रहेको यो सडक कालोपत्रे भएपछि यस भेगका जनतालाई आवतजावतमा निकै सहज हुने धनुषाधाम नगर प्रमुख वालेश्वर मण्डलले जानकारी दिए । सिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य संजय महतो, हंसपुर नगर प्रमुख प्रदिप यादव र गणेशमान चारनाथ नगर प्रमुख जीतनारायण यादवसहितको उपस्थिति थियो ।
सडक सिलान्यासपछि राष्ट्रियसभा सदस्य ढुङ्गानाले निर्धारित समयसीमाभित्र स्तरीय सडक निर्माण कार्यमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलाई र नियमित रुपमा सुपरिवेक्षण गरी गुणस्तरीय काम गराउन डिभिजनल कार्यालयका प्रमुख यादवलाई निर्देशन दिए ।