शिक्षक माग्दै वडा अध्यक्षको अनसन

सबैला, धनुषा । सबैला नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सरोज कुमार यादव विद्यालयका लागि शिक्षक तथा वडा कार्यालयमा कर्मचारी माग्दै अनसन बसेका छन् ।

आठ कक्षासम्म सञ्चालन भइरहेको विद्यालयमा जम्मा तीन जना शिक्षक रहेको भन्दै वडा अध्यक्ष यादवले उक्त विद्यालयलाई आवश्यक संख्यामा शिक्षक तथा वडा कार्यालयका लागि कम्प्यूटर अपरेटर उपलब्ध गराइदिन माग गरेका हुन् ।

यस अघि नगरपालिकाको आयव्ययवारे जानकारी मागेका वडा अध्यक्ष यादवले अहिलेसम्म पाउन नसकेको बताउँछन् । ‘म आफै सदस्य रहेको कार्यपालिकाले परिचालन गर्ने योजना तथा बजेटबारे पनि जानकारी पाउन बारम्बार माग गर्दा नपाउने कस्तो पालिका होला ?’ वडा अध्यक्ष यादवले प्रश्न गरे, ‘सूचनाको हक आम नागरिकले पाउनुपर्ने ग्यारेन्टी नेपालको संविधानले गरेको छ । उक्त हक कार्यान्वयनका लागि आवश्यक कानून बनेको छ । तर, सबैला नगरपालिकाले उक्त कानूनलाई चिन्दैन रे, यस्तो पनि हुन्छ ?’

एक महिनादेखि निरन्तर शिक्षक र वडा कार्यालयका लागि कर्मचारी माग गरिरहँदा पनि सुनुवाई नभएपछि बाध्य भएर अनसन बस्नु परेको उनी बताउँछन् । यादव गत सोमबार साँझदेखि नगर कार्यपालिका परिसरमै झुल टाँगेर अनसन बसेका हुन् । अनसनमा सोही वडा निवासी राजिव यादवले साथ दिइरहेका छन् ।

वडा अध्यक्ष यादवले जनताको मत आधारमा निर्वाचित भएपछि जनताको हितमा समर्पित भएर काम गर्न खोजेको बताउँदै जनताको काममा अवरोध गर्ने जनप्रतिनिधिको कर्तुत विरुद्ध बोल्नुपर्ने बेला आएको बताए ।

उनले वडालाई चाहिको कर्मचारी तथा विद्यालयका लागि शिक्षक उपलब्ध नभएसम्म अनसन जारी राख्ने बताएका छन् ।

Facebook Comments Box