मेयरलाई पक्रन प्रशासकीय अधिकृतको उजुरी

जनकपुरधाम । धनुषास्थित विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साहले नगर प्रमुख (मेयर) बेचन दास र उनका छोरा रामभजन दासलाई पक्राउ गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका छन् ।
शिक्षक सेवा आयोगबाट सिफारि भई आएकी एक जना शिक्षकलाई विद्यालयमा हाजिर गराएको झोंकमा मेयर दासका छोरा रामभजनले प्रमुख प्रशासकीय अधिकृत साहलाई मंगलबार उनको कार्यकक्षमै कुटपिट गरेका थिए । पछि त्यहाँ पुगेका नगर प्रमुख दासले पनि आफुलाई कसैले केही भने गोली हानिदिने धम्की दिएको आरोप साहको छ ।
‘आयोगबाट सिफारिस भएका निमावि सामाजिक शिक्षक पवन कुमारीलाई हाजिर गराउँदा तैँले किन हाजिर गराइस् भन्दै धाकधम्की र गालीगलौज तथा मेरै कार्यकक्षमा कुटपिट समेत गर्दा सो को जानकारी जिल्ला प्रहरी प्रमुखलाई दिएको थिएँ’ घटनापछि प्रमुख जिल्ला अधिकारीलाई दिएको उजुरीमा भनिएको छ, ‘प्रहरी जवानहरु विकास बस्नेत र विकास कुमार राय तथा विदेह नगरपालिका ७ का वडा अध्यक्ष राजकिशोर सिंहसमेतको उपस्थितिमा मेयर बेचन दासले गाली गर्नेलाई गोली हान्छु र मलाई कुनै कानुनले रोक्न सक्दैन भनेर धम्की दिएकोले कुटपिट गर्ने रामभजन तथा गोली हान्ने धम्की दिने बेचन दासलाई पक्राउ गरी कारबाही गर्न अनुरोध गर्दछु ।’
प्रमुख प्रशासकीय अधिकृत साहले अर्को व्यवस्था नभएसम्मका लागि आफुलाई सुरक्षासाथ काम गर्ने वातावरण मिलाई दिन प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छन् ।
अधिकृत साह राष्ट्रिय सतर्कता केन्द्रबाट सरुवा भई दुई महिना अघि विदेह नगरपालिकामा ईन्जिनियरको रुपमा हाजिर भएका थिए । २६ दिन अघि उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको थियो । उनी नगरपालिकामा आएदेखि बेथिति विरुद्ध निरन्तर काम गरिरहेको अन्य जनप्रतिनिधिहरु बताउँछन् ।
केही दिन अघि नियम विपरित करिब दस लाख रुपैयाँ बराबरको कम्बल खरिद गरी ल्याएका थिए । उक्त कम्बल बीलमा पेश गरेको जस्तो रकमको नभएको र खरिद प्रक्रियासमेत नमिलेको भन्दै फिर्ता गरिदिएका थिए । यस्तै अन्य बेथितिहरुमा पनि साथ नदिएपछि नगर प्रमुख र उनका छोरा प्रशासकीय अधिकृत साहसँग चिढिएको बुझिएको छ ।



