‘पैसा कहाँ छ सरकार ?’ (को सांसदले के भने ?)

जनकपुरधाम । जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभामा सोधे, ‘पैसा कहाँ छ सरकार ?’
जनतालाई सेवा दिन भनेर स्थापित सबै निकायले पैसाको अभाव देखाइरहेको उल्लेख गर्दै पूर्व मन्त्री खानले भने, ‘अस्पताल जानु तोकिएको जति निःशुल्क औषधी पाइँदैन । औषधी किन छैन सोध्नुस्, पैसा छैन भन्छ । किसानलाई मल किन्न पैसा छैन भन्छ । जनताका प्रतिनिधि खाली गाग्री बोकेर पानी माग्न आउँछन्, मन्त्रीले पैसा छैन भन्छन् । स्कूलमा शिक्षक छैन । ठेक्का लागेका पूर्वाधार निर्माण कार्य बीचमै रोकिएका छन् । किन निर्माण कार्य जारी रहेन सोध्नुस् पैसा छैन भन्छन् । भनेपछि पैसा कहाँ छ सरकार ?’
लोसपाका सांसद रामप्रकाश चौधरीले देशमा च्याउँझैं खोलिएका अवैध अस्पतालहरुको विषय उजागर गरे । उनले भने, ‘अवैध अस्पतालले बिरामीले स्वास्थ्य सेवामा न्याय पाएका छैनन् भने सरकारले राजश्व गुमाइरहेका छन् । यस्ता समस्या कहिलेसम्म रहने ?’
जसपा सांसद रेखा यादवले पढ्नका लागि जापान गएर एक वर्षदेखि सम्पर्कविहीन भइरहेको किर्तिपुरका सुशान्त अधिकारीलाई खोजिदिन संसदमार्फत सरकारसँग माग गरिन् ।
उनले सदनको कार्यसूचीमा पुगिसकेको अध्यादेश सम्बन्धी विधेयक फिर्ता लिएकोमा सरकारको आलोचना गरिन् । यादवले भनिन्, ‘भारी बहुमतको सरकार सदनदेखि किन डराएको ?’
सांसद प्रेम सुवालले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि भारत र चीनसँग पाठ सिकेर अघि बढ्न सरकारलाई सुझाव दिए । उनले सगरमाथा संवादवारे चर्चा गर्दै पर्यावरणमा प्रतिकुल असर पार्न भूमिका खेल्ने देशहरुसँग क्षतिपुर्ति लिनेगरी नीति लिनुपर्ने बताए ।
आम जनता पार्टीका सांसद प्रभु साहले नेपालमा लोकतन्त्र कि निरंकुश शासन व्यवस्था रहेको प्रश्न तेस्र्याउँदै विरोध गर्ने स्थान देखाइदिन माग गरे । काठमाडौंमा विरोधसभा गर्ने ठाउँमा ताल्चा लगाइएको उल्लेख गर्दै उनले सडकमा सभा गर्ने पार्टी र नेतालाई लाज लाग्नुपर्ने बताए ।
साहले भने, ‘हामीले निरंकुश भनेको राजाको शासनमा बरु विरोधसभा गर्ने थलो थियो । अहिले लोकतन्त्रमा छैन ? हामीले यस्तै शासनको लागि लडेको हो ?’ लोकतन्त्रवादी भनाउने नेताहरुले विरोधसभा गर्न ठाउँ नदिने र मोबाइलबाट पनि विरोध गर्न नदिएकोमा आपत्ती प्रकट गरे ।
‘प्रभु साहले काठमाडौंमा सभा गर्न चाहेका छन् । कहाँ आयोजना गर्ने ठाउँ दिनुस् प्रधानमन्त्रीज्यू’ उनले सदनमा भने ।
स्वतन्त्र सांसद अमरेश सिंहले भ्यूटावर र सभाहल निर्माणमा सिमित रहेको सरकारलाई जनकपुरमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न ध्यानाकर्षण गराए । एयर ट्राफिकको समस्या समाधान गर्न पनि जनकपुर विमानस्थलको क्षमता विकास गर्न उनले माग गरे ।
कांग्रेस सांसद चन्दा चौधरीले चुरे दोहनको मुद्दा उठाइन् । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको बहानामा चुरेलाई तहसनहस गर्नेगरी खोला उत्खनन् गरिरहँदा सरकारले ध्यान दिन नसक्नु दुखद् रहेको उनको भनाइ छ । मधेशको लाइफलाइनको रुपमा रहेको चुरे जोगाउन नसके देश र जनतासँग अन्याय हुने उनको भनाइ थियो ।
गत मंसिर ३ गते सर्वोच्च अदालतमा दायर भएको मुद्दावारे चर्चा गर्दै उनले सिरहाको खुट्टी खोलाको समस्या समाधानमा पनि सरकारको ध्यानाकर्षण गराइन् । सांसद चौधरीले यस्ता समस्या समाधानका लागि सभामुखलाई अनुगमनको लागि संसदीय समिति बनाउन माग गरिन् ।


