गैससको प्रतिफल अध्ययन गर्न सिडिओलाई परिपत्र

जनकपुरधाम । सरकारले नेपालमा गैरसरकारी संघसंस्थाहरुमा भएको लगानी र प्रतिफल अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

एनजिओ तथा आइएनजिओहरु मार्फत सञ्चालित सबै परियोजनाहरुमा भएका लगानी, खर्च र प्रतिफलको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको हो ।

जिल्लामा सञ्चालित गैरसरकारी संस्थाले कुन कुन विकास साझेदारबाट के कस्तो क्षेत्रमा कति सहायता रकम उपयोग गरिरहेका छन् र सहायता परिचालनको मोडालिटी तथा परियोजनाको अवस्था अध्ययन गर्न गृहले निर्देशन दिएको हो ।

सहायता परिचालनको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा परेको असर पनि अध्ययन प्रतिवेदनमा समेट्न भनिएको छ ।

‘युएसआइडीबाट सञ्चालित कार्यक्रम तथा परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायसँग समन्वय गरी अध्ययन तथा विश्लेषण गर्ने र सो को प्रतिवेदन समेत पठाउन हुन निर्णय अनुसार अनुरोध छ’ गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई लेखेको पत्रमा भनिएको छ ।

गृह मन्त्रालयले युएसआइडीसमेत विभिन्न एनजिओ आइएनजिओको खर्च पारदर्शिता र परियोजनाको औचित्यमाथि अध्ययन गर्न लागेको हो । अमेरिका, बेलायत, जर्मन, फिनल्याण्ड लगायत विभिन्न देशसँग आबद्ध आइएनजिओले अर्थ मन्त्रालय र समाज कल्याण परिषदबाट स्वीकृति लिएर वर्षेनि अर्बौ रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

Facebook Comments Box
    ट्याग: