एकैदिन २० अस्पतालमा पुगे मुख्यमन्त्री सिंह

जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले शनिबार जनकपुरका २० वटा निजी अस्पताल अनुगमन गरेका छन् ।
मापदण्ड विपरित सञ्चालनमा रहेका अस्पतालहरु बिरामीलाई ठग्ने र स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा लापरबाही बढेको गुनासो बढेपछि मुख्यमन्त्री सिंहले अनुगमनमा जोड दिएका हुन् ।
शुक्रबार मध्यराती जनकपुरको पिराडी चोकस्थित मुस्कान अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिंहले दर्ता बिनै सञ्चालनमा रहेको र तोकिएको मापदण्ड समेत पुरा नगरेको पाएका थिए ।
शनिबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुसहितको टोली लिएर अनुगमनमा निस्केका मुख्यमन्त्री सिंहले दिनभर लगाएर कम्तीमा २० वटा अस्पताल अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा अस्पतालहरुको नाउँमा जनताको स्वास्थ्यसँग चरम लापरबाही देखिएको मुख्यमन्त्री सिंहका मिडिया प्रतिनिधि मनोज मोरबैता यादवले जानकारी दिए ।
‘अस्पतालमा पुगेपछि के के समस्या रहेको भन्दा पनि ठीक के हो त भनेर सोध्नु परिरहेको थियो’ अनुगमनपछि शनिबार साँझ न्यूजआजसँग यादवले भने, ‘अस्पतालहरुको आकस्मिक कक्षमै निकै कमजोरीहरु छन् । त्यसपछि ल्याब, औषधी पसल, फोहोर व्यवस्थापन, स्टाफ तथा चिकित्सक लगायत कुनै पनि मापदण्ड पुरा गरेको भेटिएन ।’
निजी अस्पतालहरुमा इमेर्जेन्सी सेवा भनिएको तर एउटा पनि इमेर्जेन्सी जस्तो व्यवस्थित नरहेको उनले जानकारी दिए । त्यस्तै, अहेब र अनमिको भरमा औषधी पसल सञ्चालन गर्ने, बाहिरबाट हेर्दा भव्य अस्पताल जस्तो देखिने तर अहेब र एचएको भरमा सञ्चालन भइरहेको जस्तो गम्भिर लापरबाहीहरु देखिएको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत सन्तोष ठाकुरले दिनभर अनुगमन गरिएका अस्पतालहरुको अवस्थाबारे प्रतिवेदन तयार गरिरहेको बताए । उनले भने, ‘बेथिति धेरै छ । यस्ता अस्पतालहरुलाई के कुन कानुनलाई टेकेर कारबाही गर्ने भन्ने विषयमा अध्ययन गर्दैछौं ।’