स्वास्थ्यमन्त्री सुस्त, मुख्यमन्त्री अग्रसरः मध्यरातमा अस्पताल अनुगमन

जनकपुरधाम । वैधानिक स्वास्थ्य संस्थालाई व्यवस्थित गर्दै अवैधानिक अस्पतालहरु बन्द गराउने जिम्मेवारी प्रदेश स्वास्थ्य मन्त्रीको हो । तर, मन्त्रीले यसका लागि चासो नदेखाएपछि मुख्यमन्त्रीले अग्रसरता लिएका छन् ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले थालेको अनुगमन अभियान उनको ठाउँमा शत्रुधन सिंह कोइरी आएदेखि रोकिएको छ । अवैध अस्पतालहरु छ्याप्छ्याप्ती भएको र बिरामीहरु ठगिइरहेको गुनासो चौतर्फी आउन थालेपछि मुख्यमन्त्री सतिश कुमार सिंह आफै अग्रसर भएर मध्यरात अनुगमनमा निस्किन थालेका छन् ।

यसैक्रममा शुक्रबार राति ११ बजे जनकपुरको पिराडी चोकस्थित मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता, अनुमति लगायतको कागजात खोजे । सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखियो । मुख्यमन्त्री सिंहले शनिबार बिहानसम्म त्यहाँ भर्ना रहेका बिरामीलाई अर्को अस्पतालमा व्यवस्थापन गरी अस्पताल बन्द गरेर साँचो आफुलाई बुझाउन निर्देशन दिएर फर्केका छन् ।

‘यो अस्पताल विधिवत प्रक्रिया पुरा गरेको देखिएन’ मुख्यमन्त्री सिंहले सञ्चालकलाई भने, ‘भोली बिहानसम्म आफैले बन्द गरी साँचो मलाई जिम्मा लगाउनुस् । नभए मेरो टोली आउँछ र सबै सामान उठाएर लग्छ ।’

Facebook Comments Box