गाविस अध्यक्षलाई विपन्नको कम्बल

सर्लाही । हरिपुर्वा नगरपालिकामा जाडो सकेपछि विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
हरिपुर्वा ७ का वडा अध्यक्ष उमेश यादवले बिहीबार विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । वडाको बजेट खर्च गर्नुपर्ने बाध्यताले जाडो सकेपनि कम्बल वितरण गरिएको हो ।
अत्यधिक जाडोले कठ्यांग्रिइरहेको बेला किन वितरण नगरेको भन्ने सवाल गर्दा वडा अध्यक्ष यादव नाजवाफ भए । उनले भने, बाँड्नुपर्ने थियो, ढिलै भएपनि बाँड्यौँ ।
न्यायिक समिति सदस्य सुशिल राय यादव कम्बल वितरण कार्यक्रममा सहभागी त भए तर उक्त कम्बल कुन निकायको बजेटले खरिद भएको भन्ने आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । प्रहरीको समेत सहभागितामा तीन सय जनालाई वडाको बजेटबाट कम्बल वितरण गरिएको वडा अध्यक्ष यादवको भनाई छ ।
वडा अध्यक्ष यादवले विपन्नलाई जाडोबाट जोगिन भनेर खरिद गरेको कम्बल पूर्व गाविस अध्यक्षहरु फेकु राय र किशोर राय तथा शिक्षकहरु रामवरण यादव, लालदेव यादव पनि ओढाएका छन् ।