पाँच दशक पुरानो स्कूलको बेहाल

‘विदेशीले बनाइदिए, नगरपालिकाले वास्तै गरेन’

जनकपुरधाम । २५ वर्ष अघि एकजना अमेरिकी नागरिक बीलसेन सोन पिस कार्प स्वयम्सेवकको रुपमा नेपाल आएका थिए । जनकपुरधाम घुमघामको सिलसिलामा उनको नजर पर्यो गंगासागर र धनुषसागरको बीचमा अवस्थित झुलाघरमा ।

साउन महिनामा हुने झुलनोत्सवका लागि बनाइएको जीर्ण भवनमा बालबालिका पढाउने विद्यालय सञ्चालन भइरहेको थियो । वर्षायाममा चुहिने छत कुनबेला झर्ने हो, ठेगान थिएन । पर्खालहरु पनि भत्किनै लागेको थियो । बीलसेनले तत्काल जीर्ण संरचनालाई हटाएर नयाँ भवन ठड्याउन आफ्नै तर्फबाट आर्थिक सहयोग गरे ।

सन् २००० मा अमेरिकी स्वयम्सेवक बीलसेनले उक्त विद्यालयको भवन बनाउन ७ लाख ३८ हजार नेपाली रुपैयाँ सहयोग गरे । बीच जनकपुरमा जीर्ण रहेको एउटा विद्यालय भवन बनाउन विदेशी स्वयम्सेवकले हात बढाएपछि जिल्ला शिक्षा कार्यालयले पनि ५० हजार रुपैयाँ थपिदियो । तत्कालिन सांसद कृष्ण प्रताप मल्लले संसदीय विकास कोषबाट २५ हजार थपिदिए ।

सर्लाही, धनकौल निवासी सियाराम राय यादवले १५ हजार, जिल्ला विकास समिति धनुषाले १४ हजार, जनकपुरनिवासी लक्ष्मण साह सोनारले १३ हजार, महोत्तरीको एकडरा निवासी राजनारायण पाठकले ११ हजार १११, आनन्दीलाल झुनझुनवालाले ११ हजार, बलरामप्रसाद गुप्ताले ११ हजार, उक्त विद्यालय (राजर्षीजनक बाल राप्रावि) स्वयम्ले ७ हजार ५ सय, किशोरीलाल साहले ५ हजार १ सय, श्रवण कुमार झाले ५ हजार १ सय, जनकपुर चुरोट कारखाना लिमिटेडले ५ हजार, पवन ठाकुरले ३ हजार १ सय, गोविन्द मुरारकाले दुई हजार ५ सय, किशोरी चौधरीले २ हजार १ सय, मिलन स्टोरले २ हजार १ सय, शिवदयाल साहले १ हजार ५ सय, राजकुमार साहले १ हजार ५ सय, हरद्वारीलाल सिंघानीयाले १ हजार १ सय, जानकी आयरन स्टोरले १ हजार १, बदामी साहले १ हजार १ र रोशन ठाकुरले १ हजार १ रुपैयाँ दान गरेपछि भवन निर्माण सम्भव भएको हो ।

यसरी विदेशी तथा स्थानीय नागरिकको अग्रसरतामा निर्माण भएको भवनमा विद्यालय सञ्चालनका लागि जनकपुरधाम नगरपालिकाले भने कहिल्यै तत्परता देखाएन ।

वि.सं. २००४ साल अर्थात् राणाशासन कालमै गुरुकुलको रुपमा शिक्षादिक्षा सञ्चालन भएको उक्त संरचना गुठी संस्थानले साउन महिनामा झुलनोत्सव मनाउन बनाएको थियो । २०२९ सालमा सोही भवनमा औपचारिक रुपमा दर्ता गरी सुरु गरियो राजर्षीजनक बाल राष्ट्रिय प्राथमिक विद्यालय, जनकपुर –४ (झुलाघर) ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि देशभरका प्राथमिक विद्यालयहरु अपग्रेड भयो । राजर्षीजनक बाल राप्राविको पनि नाम पनि बढुवा भई आधारभूत विद्यालय हुनपुग्यो । तर, विद्यालयको शैक्षिक स्तरमा भने दिनदिनै घटुवा भइरहेको छ । जनकपुरको नाम पनि संशोधित भएर जनकपुरधाम हुनपुग्यो । नगरपालिकाबाट उपमहानगरपालिका भयो । विद्यालय सुधारमा भने ध्यान पुग्न सकेन ।

दुई दशकपछि जनकपुरले नेतृत्व पायो । नगर प्रमुखको हैसियतमा आएपछि लालकिशोर साहले राजर्षीजनक बाल राप्राविको आवश्यक्ता नबुझेर हुनसक्छ बन्द गरिदिने निर्णयमा पुगे । उनले विद्यालयमा रहेका प्रधानाध्यापकसमेत सबै शिक्षकलाई अन्य विद्यालयहरुमा सरुवा गरिदिए ।

बालबालिकालाई खानेपानी र सौचालय दिन आवश्यक नबुझेको नगरपालिकाको रिक्सा, ठेलावाला र मजदुरका छोराछोरी पढ्ने विद्यालय बन्द गर्ने निर्णय प्रधानाध्यापक बनारसीदेवी यादवलाई सहय भएन ।

उनले अदालतमा मुद्दा दर्ता गराइन् । सोही साँझ नगर प्रमुखका स्वकीय सचिव श्याम साहले फोनगरी भने, ‘मुद्दा फिर्ता लिनु तपाईको सरुवा फिर्ता भयो ।’

प्रधानाध्यापक यादवले आफ्नो सरुवा रोकेर मात्रै नहुने अडान लिँदै उचित ढंगले विद्यालय सञ्चालनका लागि आवश्यक शिक्षक र पूर्वाधार माग गर्दै आएकी छिन् । तर, उनलाई सुन्न तयार छैन नगरपालिका ।

नगरपालिका हुँदा १४ जना शिक्षक कर्मचारी रहेको झुलाघर विद्यालयमा उपमहानगरपालिका भएपछि २ जनामा झरेको छ । अहिले एक जना प्राधानाध्यापक र एक जना शिक्षक छन् विद्यालयमा । विद्यार्थी ११३ छन् । बालकक्षामा १९ जना रहेको यस विद्यालयमा कक्षा एक पढ्ने २२, कक्षा दुई पढ्ने २६, कक्षा तीन पढ्ने १८, कक्षा चार पढ्ने १७ र कक्षा पाँच पढ्ने १२ जना बालबालिका छन् ।

विदेशी नागरिकको होस्टेमा स्थानीयले हैसे थपेपछि विद्यालयको भवन त बन्यो । तर, जिम्मेवार निकाय नगरपालिका र वडाले ध्यान नदिँदा शिक्षक, सौचालय र खानेपानीको अभाव भोगिरहेको छ । यी अभावको बीच गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्छ त ? अवकाश पाउन २ वर्ष बाँकी रहेको प्रधानाध्यापक यादवको प्रश्न छ ।

Facebook Comments Box