आज एनकेएल फाइनलः जनकपुर भर्सेज काठमाडौं

जनकपुरधाम । नेपाल कबड्डी लिग (एनकेएल) च्याम्पियन उपाधीका लागि आज जनकपुर नाइट्स र काठमाण्डु माभरिक्सबीच फाइनल प्रतिस्पर्धा हुँदैछ ।

साँझ ६:३० बजे काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा हुन लागेको एनकेएल फाइनलमा भिड्न दुवै टिम तम्तयार अवस्थामा छन् । यद्यपि अहिलेसम्मको प्रदर्शनमा जनकपुरले अपराजित यात्रा कायम राख्न सफल रहेको छ ।

जनकपुरले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो । पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनमा स्थान सुरक्षित गरेको जनकपुर एनकेएल च्याम्पियन घोषित हुन आतुर देखिन्छ ।

लिग चरणमा तीन वटा खेल जितेको काठमाण्डुले जनकपुरलाई भने जित्न सकेको थिएन । त्यसो त जनकपुरले पनि लिग चरणमा भएको प्रतिस्पर्धामा काठमाण्डुलाई जित्न नसकेकै हो । अर्थात् जनकपुर र काठमाण्डुको खेल बराबरीमा टुंगिएको थियो, स्कोर बन्यो ३९–३९ ।

एनकेएल लिग चरणमा काठमाण्डुलाई पराजित गर्ने अधुरो सपना पुरा गर्नका लागि जनकपुरका खेलाडीहरु जोशिएका छन् । एनकेएलमा सहभागी ६ टिममध्ये एकमात्र महिला प्रशिक्षक पार्वती राईले जनकपुरको हौसला बढाइरहेकी छिन् ।

जनकपुर (धनुषा) कै प्रशिक्षक सरोज सिंहले काठमाण्डु टिमको लागि प्रशिक्षकको भूमिकामा छन् । उनले पनि जनकपुरलाई पराजितगरी आफ्नो टिम (काठमाण्डु) जित्ने दावी गरिरहेका छन् ।

कसले उचाल्लान् त प्रथम एनकेएल ट्रफी ? आज साँझ ६:३० बजे दशरथ रंगशालाको कभर्ड हलमा हुन लागेको फाइनल खेल न्यूजआजको फेसबुक पेज www.facebook.com/newsaaja मा पनि हेर्न सकिन्छ ।

Facebook Comments Box