जनताबीच एकले अर्काको अनुहारसमेत हेर्न नचाहने उपेन्द्र यादव र सिके राउत नेतृत्वको पार्टी एउटै मोर्चामा

जनकपुरधाम । सप्तरीबाट उपेन्द्र यादवलाई चुनाव हराएर पहिलो पटक संसदीय राजनीतिमा प्रवेश पाएका सिके राउतको व्यवहार र अभिव्यक्तिले जे देखिन्छ, बुझिन्छ त्यो भन्दा एकदमै फरक रहेको छ वास्तविकता ।
कुनै बेला मधेशलाई नेपालबाट स्वतन्त्र बनाउने अभियानको नेतृत्व लिएर नेपालको राजनीतिमा उपस्थिति जनाएका राउत संसदीय अभ्यासमा नपुग्दै यादवविरुद्ध कडा रुपमा प्रस्तुत हुन्थे । जब स्वतन्त्र मधेशको अभियानलाई छाडेर संसदीय राजनीतिमा जाने निर्णयमा पुगे अनि राउतले भनेका थिए, ‘उपेन्द्र यादव जुन क्षेत्रबाट चुनाव लड्छन् मेरो उम्मेदवारी त्यहीँ क्षेत्रबाट हुनेछ ।’
नभन्दै राउतले आफ्नो पहिलो निर्वाचनमा पहिले घोषणा गरेकै शैलीमा प्रस्तुत भए । जसपा अध्यक्ष उपेन्द्र यादव त्यसअघि जितेकै क्षेत्रबाट उम्मेदवारी दिए भने राउतले पनि उनीसँगै प्रतिस्पर्धामा उत्रिए र जिते पनि ।
राउत र यादव चुनावी मैदानमा एक अर्का विरुद्ध प्रस्तुत भएदेखि दुवैको पार्टी कार्यकर्तामा पनि प्रतिस्पर्धा देखिन थाल्यो । चुनावी प्रतिस्पर्धा भन्दा पनि राजनीतिक प्रतिशोधमा देखिन्थे दुवै दलका कार्यकर्ताहरु ।
चुनावपछि यी दुई दल प्रदेशसभामा प्रतिनिधित्व गर्ने संख्या आधारमा तेस्रो र चौथो हैसियतमा पुगे । सत्तामा पुग्न दुवै दलमा त्यतिकै हतार देखिन्थ्यो । प्रदेशसभामा पहिलो दलको हैसियतमा रहेको एमालेको साथ पाएपछि जसपाले सरकारको नेतृत्व गर्ने मौका पायो । जनमतलाई पनि सरकारमा गइहाल्नुपर्ने चटारो थियो, जसपाकै नेतृत्व स्वीकार गरी मन्त्री खायो ।
एउटै सरकारमा भएपनि दुई दलबीच समन्वय र सहकार्यको वातावरण भने बनिसकेको थिएन । सोही क्रममा प्रदेश सरकारको नेतृत्व सम्हालेको जसपाको प्रस्तावमा उपेन्द्र यादवले राजविराजमा रहेको कृषि विश्वविद्यालय परिसरमा भवन सिलान्यास गर्दा सोही सरकारका शिक्षा मन्त्री महेश यादवले अवरोध गरेका थिए । दुई दलबीचको आन्तरिक द्वन्द्वले सरकार सञ्चालनमै असर पुगेको थियो ।
यतिबेला मधेशी मोर्चाको नाउँमा भने तिनै जसपा र जनमत दुवै दल एउटै कित्तामा उभिइरहेको छ । मधेश केन्द्रीत मुद्दालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी बनाउन हुन लागेको मोर्चामा जसपा र जनमत एकै ठाउँमा आइपुगेका हुन् ।
यसै क्रममा बिहीबार सिंहदरबारमा बसेको आठ दलका प्रतिनिधिहरुले मोर्चालाई मूर्तरुप दिन भन्दै कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलमा जसपाको तर्फबाट पार्टी प्रवक्ता मनिष सुमन छन् भने जनमतका डा. शरदसिंह यादव, लोसपाबाट लक्ष्मणलाल कर्ण, अशोक राई नेतृत्वको जसपाबाट मोहम्मद इस्तियाक, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशिल पार्टीबाट डा. शिवजी यादव, तमलोपाबाट ब्रजेश सिंह र राष्ट्रिय मुक्ति पार्टीबाट एक जना प्रतिनिधि रहने निर्णय बैठकले गरेको छ ।