जसपा नेता साहले त्यागे पार्टी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रमोद साहले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।
प्रतिनिधिसभाका पूर्व सदस्य समेत रहेका नेता साहले जसपा नेपालको केन्द्रीय सदस्य, संगठन विभाग र सधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको प्रेस विज्ञप्ती सामाजिक सञ्जालमा पोष्ट्याएका छन् ।
२०७४ मा साह सर्लाही –१ बाट प्रतिनिधिसभा सदस्य पदमा तत्कालिन राजपाको तर्फबाट निर्वाचित भएका थिए । राजपा र जसपा एकीकरण भएर अलगिएपछि साहले उपेन्द्र यादव नेतृत्वको जसपा रोजे ।
पछिल्लो महाधिवेशनमा पार्टी सचिव पदको लागि उम्मेदवारी दिएका साह पार्टी अध्यक्षको रोजाइमा नपरेपछि असन्तुष्ट थिए । उनले केन्द्रीय पदाधिकारीमा सर्लाही जिल्लाबाट कोही नपरेको भन्दै नेतृत्व समक्ष निरन्तर गुनासो गर्दै आएका थिए । कहीँ कतैबाट सुनुवाई नभएपछि बाध्य भएर पार्टी त्यागको निर्णयमा पुगेको उनले विज्ञप्ती मार्फत जनाएका थिए ।
साह प्रतिनिधिसभा सदस्य निर्वाचित भएको कार्यकालमा उनकी श्रीमति राजपाकै समानुपातिक कोटाबाट मधेश प्रदेशसभा सदस्यको पद प्राप्त गरेकी थिइन् ।