कांग्रेसको अगुवाईमा साना व्यवसायी सम्मेलन

काठमाडौं । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा दुई दिवसीय स्टार्टप, साना तथा मझौला व्यवसायी सम्मेलन सुरु भएको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गरेको सम्मेलन बिहीबारसम्म चल्ने महामन्त्री गगन थापाले जानकारी दिए । उनका अनुसार साना तथा मझौला व्यवसायी तथा नयाँ पुस्ताका उद्यमीहरुको समस्या पहिचान र सम्बोधन गराउने उदेश्यका साथ सम्मेलन आयोजना गरिएको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताए । उनले व्यवसायीमा नयाँ उर्जा पलाएको र निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताए ।

‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भइसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं । त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’

नबिल बैंकका सिनियर डिसिओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने गरेको बताए । बैंकले बिजनेश असफलताको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने गरेको यथार्थ सुनाए । स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ ।

‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ ।’

नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशिएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आबद्ध रहेको बताए ।

अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । यसका लागि सरकारको नीति, बैंकिङ सपोर्ट महत्वपूर्ण हुने उनले बताए ।

Facebook Comments Box