धनुषामा विद्यार्थी बोकेको बस पल्टियो

जनकपुरधाम । आज (बुधबार) बिहान धनुषाको ठेरा चोकमा विद्यार्थी बोकेको बस पल्टिएको छ ।

जनकपुरस्थित एजुकेशनल पोइन्ट एकेडेमीको मधेश प्रदेश ०२ ००१क ०८७१ नम्बरको ठेरा र थुमौनाको बीचमा सडकबाट तल खसेर पल्टेको हो । बसमा सवार मध्ये दुई जना बालबालिका घाइते भएका छन् ।

बिहान गाउँबाट विद्यार्थी संकलन गरेर जनकपुर फर्किने क्रममा बस पल्टेको थियो । तारापट्टी प्रहरीले दुर्घटनामा परेका बालबालिकाहरुको उद्धार गरी घर पठाइएको जनाइएको छ ।

सडकमा हुस्सु लागेर भिजिविलिटी कम भएको बेलामा पनि बढी गतिमा रहेको कारण अनियन्त्रित भएर बस सडकबाट तल खसेको प्रहरीको भनाई छ ।

ढिलो आउने र समयमै विद्यार्थी लिएर स्कूलमा पुग्नुपर्ने बाध्यताले बसका चालकहरुले अत्यधिक गतिमा बस हुइँक्याउँदा दुर्घटना हुने गरेको छ ।

आजको घटनास्थल नजिकै ठेरामा हिजो (मंगलबार) मोनास्टिक स्कूलको बसले झण्डै मानिसलाई किचेको थियो । न्यूजआजका प्रबन्ध निर्देशक संजय झाको घर अगाडी एउटा बस रोकेर विद्यार्थी चढाइरहेको बेला साँघुरो ठाउँमा मोनास्टिक स्कूलको बसले स्पिडमै ओभरटेक गर्न खोज्दा दुर्घटना नजिक पुगेको थियो ।

झाको अत्यधिक सावधानीको कारण धन्न जोगिएको थियो । त्यतिसम्म हुँदा पनि बसका चालकले आफु हतारमा रहेको र ट्राफिक प्रहरीलाई बोलाए पनि आफुलाई केही गर्न नसक्ने भन्दै रवाफ देखाएर गएका थिए ।

Facebook Comments Box