निगरानीमा सामाजिक सञ्जालः अनुमति बेगर चलाए २५ लाखसम्म जरिवाना

जनकपुरधाम । नेपालमा सामाजिक सञ्जाल मार्फत दुष्कर्म तथा अपराध गर्नेलाई सरकारले निगरानी गर्दै कडा कारबाही गर्ने कानून ल्याउँदैछ ।
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मार्फत आर्थिक जरिवाना तथा कैद सजाय गर्ने कानून ल्याउन लागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएका हुन् । प्रस्तावित विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म तथा यसका प्रयोगकर्तालाई नियमन गर्न आर्थिक जरिवाना तथा कैद सजाय गर्ने व्यवस्था रहेको छ ।
सरकारले नेपालमा अनुमति नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने व्यक्तिलाई २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने गरी प्रस्ताव गरेको छ ।
यसैगरी, कुनै पनि व्यक्ति वा संस्थाले राष्ट्रहीत प्रतिकूल हुने कार्य गरे कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
विधेयकको परिच्छेद पाँचमा गरिएको कसूर र सजायसम्बन्धी व्यवस्थाको दफा १८ को उपदफा १ मा भनिएको छ, ‘कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय इकाइबीचको सु–सम्बन्ध प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक, क्षेत्रीय, साम्प्रायिक र यस्तै अरू कुनै आधारमा घृणा वा द्वेष उत्पन्न हुने कुनै काम गर्न वा गराउन वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने विषय सामाजिक सञ्जालमा प्रसार गर्न हुँदैन ।’
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने विधेयकमा उल्लेख छ ।
यसैगरी, साइबर बुलिङ कसुर गर्नेलाई दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय तोक्ने प्रस्ताव गरेको छ । दफा १९ मा यस्तो व्यवस्था छ ।
यस्तै, दफा २० मा साइबर स्टकिङ कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
यसैगरी, दफा २१ मा कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरी व्यवस्था प्रस्ताव गरिएको छ ।
दफा २२ मा फिसिङ वा इम्पोष्टर स्क्याम गरे तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।
यस्तै, विधेयकको दफा २३ मा सेक्सटोर्सन वा एक्सटोर्सन कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।
दफा २४ मा विभत्स तस्वीर वा अडियो वा भिडियो पोस्ट वा सेयर गरे कसूर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुवै सजाय तोकिने व्यवस्था छ ।
विधेयकको दफा २५ मा अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्नेलाई दुई वर्षसम्म कैद सजाय वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।
दफा २६ मा डिपफेक भिडियो अपलोड वा प्रसार गरे दुई वर्षसम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
दफा २७ मा सामाजिक सञ्जालमा बेनामी भएर लेख्नलाई पनि सजायको भागीदार बनाउने गरी कानुन प्रस्ताव गरिएको छ । दफा २७ को उपदफा २ को १ मा भनिएको छ, ‘बेनामी वा छद्मवेशी पहिचान बनाउन वा प्रयोग गरे कसुर गर्नेलाई तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
छद्मवेशी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गरे कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम सजाय हुनेमा सोहीबमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख भएको रहेनछ भने पाँच वर्षसम्म कैद वा १५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि गरिएको छ ।
यसैगरी, कसैले सामाजिक सञ्जालको प्रयोग गरी प्रचलित कानुन बमोजिम कसुर हुने कार्य गरेमा वा त्यस्तो कसूर गर्न दुरूत्साहन गरेमा प्रचलित कानुन बमोजिम सजायमा एक वर्षसम्म थप कैद सजाय हुने प्रस्ताव गरिएको छ ।
–साइबर बुलिङ गरे के हुन्छ ?
दुई वर्ष कैद वा तीन लाखसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।
–साइबर स्कटिङ्ग गरे के हुन्छ ?
कसैलाई झुटा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुव्र्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनीयता भंग गर्ने, बारम्बार सन्देश पाउने काम गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
–कसैको आईडी ह्याक गरे के हुन्छ ?
सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्य्राक गरी सामाजिक सञ्जालमा अनधिकृत पहुँच प्राप्त गरी तथ्यांक भण्डारमा हस्तक्षेप गरेको पाइएमा तीन वर्ष कैद वा १५ लाखसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
–फिसिङ वा स्क्याम्प गरे के हुन्छ ?
तीन वर्ष कैद वा १५ लाख जरिबाना वा दुवै सजाय हुन सक्छ ।
–सेक्सटोर्सन वा एक्सटोर्सन गरे के हुन्छ ?
कसैको निजी तस्बिर, अडियो वा भिडियो सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग सेयर गर्ने धम्की दिइ यौन शोषण, आर्थिक लाभ वा हिंसा गरेमा वा त्रासमा पार्ने काम गरेमा तीन वर्षसम्म कैद वा १५ लाख जरिबाना वा दुवै सजाय हुनेछ ।
–सामाजिक सञ्जालमा बीभत्स तस्बिर राखे के हुन्छ ?
सामाजिक सञ्जालमा कसैको बीभत्स तस्बिर वा अडियो वा भिडियो पोस्ट वा सेयर गरेमा तीन महिनासम्म कैद वा ५० हजार जरिबाना वा दुवै सजाय हुनेछ ।
–अश्लिल, मित्था सूचना प्रसार गरे ?
दुई वर्ष कैद वा तीन लाख जरिबाना वा दुवै हुन सक्छ ।
–डिपफेक भिडियो अपलोड वा प्रसार गरेमा के हुन्छ ?
कसैको अनुहार, आवाज, वा हाउभाउलाई नक्क वा प्रतिस्थापन गरी गलत सूचना प्रवाह गरेर चरित्रहत्या गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
–फेक आईडी बनाए के हुन्छ ?
फेक आईडी बनाएर कुनै पनि विषयवस्तु उत्पादन गरी पोस्ट वा सेयर गर्ने, अरुको विषयवस्तु सेयर गर्ने, कमेन्ट गर्ने वा कल गरेमा ५० हजार जरिबाना वा तीन महिना कैद वा दुवै सजाय हुनेछ ।
तर त्यस्तो आईडीबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने काम गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुनेछ ।
कसैलाई यस्तो काम गर्न लगाएमा कानुन बमोजिम हुने सजायमा एक वर्षसम्म थप कैद सजाय हुन सक्नेछ ।
–एकपटक बढी गरेमा के हुन्छ ?
दोब्बर सजाय हुनेछ । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा वा राज्य कोषबाट सुविधा लिएको व्यक्तिले गरेमा थप ५० प्रतिशत सजाय हुनेछ । कसैले यो कार्यमा बालबालिका प्रयोग गरेमा थप एक वर्ष कैद सजाय हुनेछ ।