उमेश यादवको नेतृत्वमा क्षिरेश्वरनाथमा ३० सदस्यीय नेपाल तरुण दलको समिति गठन

जनकपुरधाम। नेपाल तरुण दलको क्षिरेश्वरनाथ नगर समितिको ३० सदस्यीय नयाँ समिति सभापति उमेश कुमार यादवको नेतृत्वमा विस्तार गरिएको छ। आइतबार नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त समिति गठन गरिएको हो।

नयाँ समितिको उपसभापति पदमा जितेन्द्र राय र विजय साह चयन भएका छन्। सचिवका रूपमा जितेन्द्र साह रौनियार र रोशन कुमार महतो, सहसचिवमा सफरुल कवारी र जियाउल हक चयन भएका छन्। कोषाध्यक्ष पदमा हरि राउत नियुक्त भएका छन्। यसैगरी, सदस्यमा १९ जनालाई चयन गरिएको छ ।

समितिको विस्तार कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार, क्षेत्रीय सचिव जगदीश यादव र नगर सभापति लालबाबु यादव लगायतका नेताहरू उपस्थित थिए। उनीहरूले नेपाल तरुण दलको भूमिका र युवा नेतृत्वको महत्वलाई औंल्याउँदै नयाँ समितिलाई शुभकामना दिएका छन्।

कार्यक्रममा नगर सभापति यादवले सम्बोधन गर्दै भने, “आजको दिन क्षिरेश्वरनाथ नगरका लागि एक ऐतिहासिक दिन हो, जहाँ हामीले ३० सदस्यीय समितिको गठन गरेका छौं। यस समितिको माध्यमबाट हामी युवाहरूलाई सशक्त बनाउन, हाम्रो अधिकार र योगदानलाई सम्मान गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छौं। हाम्रो मुख्य उद्देश्य नगरको विकासमा युवाहरूको नेतृत्व र सक्रियता सुनिश्चित गर्नु हो।“

यादवले थपे, “समितिको गठनसँगै हामी युवाहरूसँग नियमित संवाद गर्ने, युवाहरुको समस्या र आवश्यकता बुझ्ने र पार्टीका उद्देश्यलाई नयाँ उचाइमा पुर्याउने काम गर्नेछौं। यो समितिको प्रत्येक सदस्य जिम्मेवार र निष्ठावान कार्यकर्ता हुनेछन्, जसले पार्टीको कार्यलाई प्रभावकारी र जनमुखी बनाउनेछन्।“

उनले आफ्ना समर्थक र कार्यकर्ताहरुलाई एकजुट रहेर पार्टीको नीति र कार्यक्रमलाई नगरभरि विस्तार गर्न आग्रह गरे। “हामी सबैको परिश्रम र समर्पणले मात्र नेपाल तरुण दललाई नगरभरि बलियो र प्रभावशाली बनाउन सक्छ। हामी नयाँ पीढीलाई समृद्धिको बाटोमा अघि बढाउन दृढ संकल्पित छौं।“

समितिको विस्तार कार्यक्रममा उपस्थित नेताहरूले पनि नगरका युवाहरूको योगदानको महत्त्वपूर्ण प्रशंसा गर्दै, सभापति यादव र नयाँ समितिलाई कार्यसम्पादनका लागि शुभकामना दिए। उनीहरूले युवा वर्गलाई एकजुट गरि पार्टीका सिद्धान्त र कार्यक्रमलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न आग्रह गरे।

समिति गठनपछि नगरका युवा कार्यकर्ताहरूलाई नयाँ उर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ। यसले क्षिरेश्वरनाथ नगरपालिकामा पार्टीको प्रभावलाई सुदृढ गर्ने र आगामी चुनौतीहरूको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box