नक्कली प्रमाणपत्रले शिक्षक, ६ महिना कैद

वीरगंज । पर्साको एक विद्यालयमा बालविकास सहजकर्ताको रुपमा कार्यरत शिक्षकलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको भन्दै कैद सजाय भएको छ ।

भीखमपुरस्थित राष्ट्रिय माविकी बाल विकास शिक्षक पुनम देवी कुर्मीलाई विशेष अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार कुर्मीविरुद्ध यस्तो फैसला गरेको हो ।

पटनास्थित बिहार संस्कृत शिक्षा बोर्डबाट माध्यमिक तह उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र पेश गरेर कुर्मीले बालविकास सहजकर्ताको जागिरमा प्रवेश गरेकी थिइन् । उनको प्रमाणपत्रबारे सोधी हुँदा बोर्डले सबै विषयको परीक्षामा अनुपस्थित भई अनुत्तीर्ण भएको जवाफ दिएको थियो ।

नक्कली प्रमाणपत्र पेश गरी २०६६ असार १२ गते नियुक्ति लिएर सरकारी लाभ लिएको पुष्टी भएको भन्दै विशेष अदालतले कुर्मीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

Facebook Comments Box