‘मधेशमा दिनदिनै बढ्दैछ भ्रष्टाचार’

जनकपुरधाम । संघीयताको ‘जननी’ प्रदेशको नामले परिचित मधेशमा दिनदिनै भ्रष्टाचार बढ्दै गइरहेको अनुसन्धानले देखाएको छ ।
संघीयता कार्यान्वयनको जिम्मेवारी बोकेका जनप्रतिनिधिहरुको क्रियाकलापले वर्तमान व्यवस्थालाई चुनौति नै थपिरहेको निष्कर्ष मधेशका नागरिकहरुको छ । काठमाडौं विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्रले गरेको नियमित नागरिक सर्वेक्षणको रिपोर्टले यस्तो देखाएको हो ।
केन्द्रले पहिलो पटक मधेश प्रदेशमा सन् २०१७ (वि.संं २०७४) मा नागरिक सर्वेक्षण गरेको थियो । त्यसबेला संविधानसभाले संविधान जारी गरिसकेपछि पहिलो पटक निर्वाचन हुँदैथियो । मधेश प्रदेशका एक हजारभन्दा बढी व्यक्तिसँग औपचारिक कुरा गर्दा १३.२ प्रतिशत नागरिकले मधेश भ्रष्टाचारलाई समस्याको रुपमा देखेको बताएका थिए ।
स्थानीय तहमा करिब २० वर्षको अन्तरालमा र प्रदेशस्तरमा पनि संसदीय निर्वाचन भएको करिब एक वर्षपछि अर्थात् सन् २०१८ मा अर्को पटक नागरिक सर्वेक्षण गरियो । नयाँ जनप्रतिनिधिहरुले जनताका लागि केही गर्लान् भन्ने आशा नागरिकमा थियो । भ्रष्टाचारलाई समस्याको रुपमा हेर्नेहरुको संख्या घटेर ७.३ प्रतिशतमा झर्यो ।
स्थानीय, प्रदेश र संघीय सरकारहरु पनि अघि बढ्न थाल्यो । तर, ती जनप्रतिनिधिहरुको ध्यान जनताको हितमा कम र भ्रष्टाचारमा बढी केन्द्रीत हुन थालेको सन् २०२० को नागरिक सर्वेक्षण रिपोर्टले देखाउँछ । केन्द्रले चार वर्षमा तेस्रो पटक सर्वेक्षण गर्दा एक हजार भन्दा बढी व्यक्तिसँग कुरा गरेपछि ३९.४ प्रतिशतले स्थानीय तह तथा प्रदेशको विकासमा भ्रष्टाचारलाई मुख्य समस्याको रुपमा हेरिरहेको बताएका थिए ।
जनता र देश कोभिडको प्रभावले संकटग्रस्त भइरहँदा पनि जनप्रतिनिधिहरु सचेत र इमान्दारीता देखाउन नसकेको निष्कर्ष नागरिकको छ । सन् २०२२ अर्थात् पहिलो कार्यकालको लागि निर्वाचित भएका जनप्रतिनिधिहरुले अन्तिम क्षणमा पुगेपछि झन् भ्रष्टाचारमा लिप्त भएको आरोप जनताको छ । स्थानीय तह र प्रदेशका करिब आधा जनता (४५ प्रतिशत) ले विकासको काममा भ्रष्टाचारलाई प्रमुख समस्या बताए ।
काठमाडौं विश्वविद्यालयको नेपाल समसामयिक अध्ययन केन्द्रले नियमित रुपमा गरिरहेको यो सर्वेक्षणले के देखाउँछ भने निर्वाचन भएको सुरुवातमा केही डर मानेका जनप्रतिनिधिहरु पनि विस्तारै भ्रष्टाचारमा लिप्त हुँदै गइरहेका छन् । मानौं उनीहरु भ्रष्टाचार गर्नकै लागि निर्वाचित भएर आएका हुन् र अब कहिल्यै जनताको मत माग्न जान नपरोस् ।