‘हाम्रो स्कूल राम्रो’ भयो त ? नगरपालिकाले समयमा तलब पठाउँछ न अनुगमन !

विरेन्द्रबजार (धनुषा) । मूलेगेटमा लेखिएको छ, ‘हाम्रो स्कूल राम्रो स्कूल’ । समय बिहानको ११:१५ बजिरहेको र दिन थियो बुधबार । प्रसङ्ग धनुषाको गणेशमान चारनाथ नगरपालिका –२, लखनपुरस्थित कुशवाहा आधारभूत विद्यालयसँग सम्बन्धित छ ।
बालविकास केन्द्र (बाल कक्षा) र एकदेखि पाँचसमेत विद्यालयमा जम्मा ६ वटा कक्षा सञ्चालन हुनुपर्ने हो । हाजिरी रजिष्ट्ररमा उल्लेखित जम्मा विद्यार्थीको संख्या १३० छन् । आज भने मात्र ६६ जना बालबालिका हाजिर छन् । विद्यालयमा सात शिक्षक छन् । आज दुईजना बाल शिक्षक समेत जम्मा तीन शिक्षकको उपस्थिति रहेको छ ।
म पुग्दा चार वटा कक्षामा सबै विद्यार्थीलाई विभाजन गरिएको थियो । बाल विकासका बच्चाहरुलाई पनि कक्षा एकमै बोलाएर बाल शिक्षक (बाल विकास सहयोगी) गीता महतोले पढाइरहेकी थिइन् ।
कक्षा दुईका विद्यार्थीलाई पढाइरहेकी थिइन् अर्का बाल शिक्षक संगीता महतोले । विद्यालयका पियन (कार्यालय सहयोगी) ले कक्षा तीनमा बसेर शिक्षक अभावको पुर्ती गरिरहेका थिए ।
एकमात्र शिक्षक राघवेन्द्र महतोले कक्षा चार र पाँचका विद्यार्थीहरुलाई एउटै कक्षाकोठामा राखेर पढाइरहेका थिए । फिल्डमा केही विद्यार्थीहरु सौचालय जान पालो पर्खिरहेका थिए । कोही चापाकलबाट बाल्टिनमा पानी बोकेर सौचालयतर्फ गइरहेको देखिन्थ्यो ।
करिब साढे दुई कट्ठा क्षेत्रफलमा रहेको विद्यालयको कम्पाउन्ड पर्खालले चारैतिरबाट घेरबेर गरिएको छ । एक कुना खेलमैदानको लागि खाली छोडिएको जस्तो देखिने विद्यालय परिसरमा पाँच वटा भौतिक संरचना देख्न सकिन्छ । सबैभन्दा नयाँ बनेको विल्ङिमा कार्यालय राखिएको छ । जस्ताले छाएको एउटा पुरानो दुई कोठे भवन जीर्ण छ । अर्को एक कोठे भवन बनाउन पिलरसम्म ठड्याइएको छ । भवन बनिसकेको छैन ।
जस्ताले नै छाएर बनाइएका दुई वटा तीन कोठे भवनहरुमा ६ वटा कक्षा सञ्चालन भइरहेको शिक्षक राघवेन्द्र महतोले जानकारी दिए । आज पनि त्यहीँ कोठाहरुमा विद्यार्थीहरु बसिरहेका छन् ।
फिल्डमा हालै रोपिएका नयाँ विरुवाहरुले मूलगेटमा लेखिएको जस्तै विद्यालयलाई ‘राम्रो स्कूल’ बनाउने प्रयास देखिन्छ । सडकबाट हेर्दा विद्यालय सुरक्षित जस्तो देखिएपनि कलबाट पानी तान्न जडान गरिएको मोटर चोरी भएको रहेछ । कार्यालय भवनको छतमाथि पानी ट्याङ्की राखिएपनि मोटर चोरी भएदेखि सौचालय जान ५० मिटरको दुरीमा रहेको कलबाट बाल्टिनमै पानी बोकेर जानुपर्छ ।

सात जना शिक्षक छन्, कक्षा ६ वटा मात्रै । विद्यालय सञ्चालन हुँदा सबै कक्षामा एकजनाको दरले व्यस्त रहँदा पनि एक जना शिक्षक फुर्सदमा रहनुपर्ने हो । यहाँ कार्यालय सहयोगीलाई समेत पढाउन लगाउँदा दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राख्नुपर्ने किन होला त ?
प्रधानाध्यापक रामचन्द्र यादवसमेत चार जना शिक्षक विदामा रहेछन् । प्र.अ.यादव बुवाको क्रियामा बस्न विदा लिनुपरेको हो । अर्का शिक्षक आशिष झाले विदा लिएका त छैनन् तर आज विद्यालयमा उपस्थित पनि छैनन् । झा स्थायी शिक्षक हुन् । निजी स्रोतबाट नियुक्ति पाएकी शिक्षक अस्मिता लामा सुत्केरी विदामा छिन् । अर्की शिक्षक लक्ष्मीमाया श्रेष्ठ घरायसी कामको लागि विदा लिएकी छिन् ।
महोत्तरीको पिपराबाट आउजाउ गर्ने झा धेरै दुरी र मौसम प्रतिकुलताको कारण आउन नसकेको अनुमान अन्य शिक्षकको छ । झाले भने आज अचानक घरमा काम परेकोले विदा बस्नुपरेको बताए । गाउँतिर मोबाइलको नेटवर्कले राम्रो काम नगर्ने समस्याको कारण विद्यालयमा पूर्व जानकारी गराउन नसकेको उनको भनाई छ ।
१३० विद्यार्थी रहेको विद्यालयमा ६६ जना हाजिर हुनु भनेको ठ्याक्कै आधा हो । यति धेरै विद्यार्थी किन गयल भए त ? शिक्षक भन्छन्, ‘शीतलहर चलिरहेको छ । मौषम प्रतिकुलताकै कारण होला ।’
जो शिक्षक विदामा छन् उनीहरुसँगै भेटै भएन । विद्यालयमा उपस्थित शिक्षकहरुको अनुहारमा पनि चार्मिङ छैन । कारण खोतल्दा समयमा तलब नपाउनु हो । दशैंको बेला पाएको तलब दशैंमै खर्चियो । त्यसयता चौथो महिना बितिसक्दा पनि तलब आइसकेको छैन । कहिले पाउने भन्ने सुनिश्चितता पनि छैन । थोरै भएपनि समयमा तलब पाउने व्यवस्था भइदिए काम गर्न मज्जा हुने उनीहरुको भनाई छ ।
शिक्षकको समस्या, विद्यार्थीको अवस्था र नियमित रुपमा हुनुपर्ने जस्तो सिकाई उपलब्धी भइरहेको छ कि छैन भनेर स्थानीय सरकारले अनुगमन गर्नुपर्ने हो । यो विद्यालयको स्थिति हेर्दा त्यो पनि रहेनछ ।