प्रदेशसभा सदस्यले भनिन्, ‘जनता मरिरहल अछि अखन, काम करबै कखन ?’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य संजिला यादवले जनताको समस्या सम्बोधन गर्न सरकार गम्भिर नरहेको गुनासो गरेकी छिन् ।

मन्त्रीहरुले विकास निर्माणको काम सुरु गर्न लागेको आश्वासन बाँड्ने काम मात्रै गरिरहेको उल्लेख गर्दै सांसद यादवले जाडोले कठ्याङ्ग्रिइरहेका विपन्न नागरिकलाई सरकारले नहेरेको आरोप लगाइन् ।

‘फलानो ठाउँमा दाउराको व्यवस्था गरिएको छ । ढिस्काना बस्तीमा कम्बल वितरण गर्न लागेको सुनिन्छ’ बुधबार बसेको प्रदेशसभा बैठकमा आफ्नो भनाई राख्दै उनले भनिन्, ‘जनता मरिरहल अछि अखन, काम करबै कखन ?’

सांसद यादवले मधेश प्रदेशसभामा लिङ्गको आधारमा सांसदसँग विभेद भइरहेको पनि आरोप लगाइन् । ‘यहाँ महिला भएकै कारण हामीसँग विभेद भइरहेको छ । चाहे योजना बाँडफाँटको विषय होस् कि न्यायको सवाल । पुरुषलाई काखा र महिलालाई पाखा भइरहेको छ’ उनको भनाई थियो ।

जसपा नेपालबाट प्रदेशसभामा प्रतिनिधित्व गरिरहेकी सांसद यादवले जनमत नेतृत्वको सरकारलाई विगतमा जसपाले गरेको कामबाट सिकेर अघि बढ्न पनि सुझाइन् । उनले भनिन्, ‘हामीबाट पनि केही गलत भएको हुन सक्छ ती कुराहरु तपाईबाट सिक्छौं । तर, हामीले गरेका राम्रा कामहरुको बारेमा पनि सिक्नुस् र बोल्नुस् ।’

Facebook Comments Box