‘हिंसापीडितलाई आश्रय र दुर्व्यसनीलाई सुधार केन्द्र देउ’

जनकपुरधाम । मधेश प्रदेशसभा नेपाली कांग्रेसकी सचेतक जिवछी यादवले हिंसापीडित महिला र लागु औषध दुव्र्यसनमा लागेका युवाहरुलाई पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

पछिल्लो जनगणनाबाट प्राप्त तथ्याङ्क केलाउँदै सांसद यादवले मधेशमा ४० प्रतिशत महिला हिंसा प्रभावित रहेको उल्लेख गरिन् । ‘आज मधेश प्रदेशमा हिंसामा परेका महिला तथा लागु औषध सेवनकर्ता युवाहरुको अवस्था भयावह छ’ उनले भनिन्, ‘महिला र युवाको जीवनस्तरमा सुधार नभएसम्म सभ्य समाज र समृद्ध प्रदेशको परिकल्पना गर्न सकिदैन ।’

मधेश प्रदेशको पछिल्लो सामाजिक अवस्था दयनीय भएको उल्लेख गर्दै सांसद यादवले यसमा सुधारका योजना ल्याउन प्रदेश सरकारसँग माग गरिन् । उनले भनिन्, ‘हिंसामा परेपछि माइत न ससुराली घरमा बस्न सक्ने महिलालाई सुरक्षित आवासको व्यवस्था गरी आत्मनिर्भर बनाएर समाजमा पुनर्स्थापनाको व्यवस्था सरकारले गर्न सक्नुपर्छ ।’

त्यस्तै, नयाँ पुस्ताका युवाहरुमा लागुऔषधको प्रकोप नराम्ररी फैलिइरहेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले भनिन्, ‘कुलतमा फँसेका युवाहरुलाई सुधारगृहमा राखेर जिम्मेवार नागरिक बनाउन तथा लागु औषधको बिक्री वितरण कडाइका साथ रोक्ने योजना लिएर सरकार अग्रसर हुनुपर्यो ।’

Facebook Comments Box