उपभोक्ता समिति पक्षीय ‘संकल्प प्रस्ताव’ बहुमतले पारित

जनकपुरधाम । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि विकास निर्माणको काम अघि बढ्न नसकेको अवस्थामा सत्तापक्षीय सांसदहरुले ल्याएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ ।
‘हुन्छ र हुन्न’ विधिबाट सभामुखले प्रस्ताव पारित गर्न खोजेपछि प्रतिपक्ष दल जसपा नेपाल तथा माओवादी केन्द्रका सांसदहरुले विरोध गरेका थिए । उनीहरुको माग अनुरुप सभामुखले मत विभाजन गरेपछि बहुमतले प्रस्ताव पारित भएको हो ।
मत विभाजन गर्दा प्रदेशसभा बैठक कक्षमा जम्मा ५९ जना सांसद उपस्थित थिए । ती मध्ये ४३ जनाले प्रस्तावको पक्षमा मतदान गरे भने विपक्षमा १६ जनाको मत परेको थियो ।
लोसपा सांसद रुपा यादवले ल्याएको प्रस्तावमा कांग्रेसकी अञ्जना पण्डित, एमालेकी पल्टीदेवी महरा, एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोइत र राप्रपा नेपालकी कञ्चन विच्छा लगायतले समर्थन गरेका थिए ।
यो प्रस्ताव पारित भए लगत्तै प्रदेश सरकारले यस अघि टेन्डरमा मात्र गर्ने भनेका योजनाहरु उपभोक्ता समितिबाट कार्यान्वयन गर्न सकिने बाटो खुलेको छ ।