रजिष्ट्रार नियुक्तिमा अस्पताल अध्यक्षको ‘पावर प्रभाव’

जनकपुरधाम । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रजिष्ट्रार नियुक्तिको प्रक्रियामा पावरको दुरुपयोग भएको आरोप लागेको छ ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. विजयराज न्यौपानेले पदपुर्ती समितिलाई प्रभावमा पारी आफ्नै छोरा विवेक न्यौपानेलाई सर्जिकल अंकोलोजी अन्तर्गत ग्यास्ट्रोइन्टेरोलोजी संकायको रजिष्ट्रार पदमा नियुक्ति दिलाएको आरोप हो ।

अस्पतालले गत पुस १ गते सर्जिकल अंकोलोजी अन्तर्गत ग्यास्ट्रोइन्टेरोलोजी संकायको रजिष्ट्रार सहित पदपुर्तीका लागि विज्ञापन आहवान गरेको थियो । ती पदका लागि आवेदन दिने उम्मेदवारहरुको लिखित परीक्षा माघ ५ गते लिने भन्दै अस्प्तालले पुस २२ गते सूचना जारी गर्यो । तोकिएको मितिमा लिखित परीक्षा भयो पनि । तर, पूर्व सूचना नै नदिई सोही दिन अन्तरवार्ता पनि लिइयो ।

परीक्षाको परिणाम त्यहीँ सार्वजनिक भयो जुन विज्ञापन भएदेखि चर्चामा थियो । चर्चा थियो, ‘अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. न्यौपानेले आफ्नै छोराका लागि उक्त विज्ञापन गरेका हुन्, अन्य उम्मेदवारले प्रयास नगरे पनि हुन्छ ।’

योग्यता र पृष्ठभूमिको आधार जुटेको खण्डमा ‘आफन्तकै भर’ भन्ने आरोप निराधार हुन सक्थ्यो । उक्त पदका लागि दसजनाले आवेदन दिएकोमा उत्तीर्ण भएका डा. विवेक न्यौपानेको तुलनामा उच्च शिक्षा हासिल गरेको र सम्बन्धित विभागको अनुभव समेत संगालेका उम्मेदवारलाई पाखा लगाइएपछि यस्तो आरोप लागेको हो ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी) परीक्षा समेत एक पटकमा उत्तीर्ण हुन नसकेका डा. न्यौपानेले जनरल सर्जरीमा एमएस गरेका हुन् ।

जबकी सोही पदका लागि प्रतिस्पर्धा गरेका एक उम्मेदवारले जिआइमा एमसिएच गरेका छन् । सोही विभागमा पाँच वर्षको अनुभव पनि छ । अन्य उम्मेदवारहरुमा पनि डा. न्यौपानेको तुलनामा राम्रो अध्ययन र अनुभव संकलन गर्नेहरु छन् ।

‘जिआई संकायका लागि रजिष्ट्रार चाहिएको रहेछ, जुन विषयमा अध्ययन अर्का उम्मेदवारको छ । तर, अनुभव समेत नरहेको जनरल सर्जरीका डा. न्यौपानेलाई नियुक्तिको प्रक्रिया अघि बढाइयो’ परीक्षामा सहभागी मध्येका एक जना उम्मेदवारले न्यूजआजसँग भने, ‘शंका गर्ने ठाउँ यहीँ छ ।’

विज्ञापन प्रकाशित भएदेखि नै न्यौपानेकै लागि उक्त विज्ञापन गरिएको चर्चा थियो । अस्पताल बोर्डकै अध्यक्षको छोराका लागि भनिसकेपछि किन आवेदन गर्ने भन्दै बोर्डका केही सदस्यहरुले नै योग्य आवेदक सकभर प्रतिस्पर्धामा सहभागी नै नभइदिए हुन्थ्यो भन्ने आशय देखाइरहेका थिए ।

अस्पतालका प्रशासकीय अधिकृत गृहनारायण महतोले भने रीतपुर्वक लिइएको परीक्षामा जसले जति लेखे त्यसै अनुसारको प्राप्ताङ्क आधारमा रिजल्ट आएको जिकिर गरे । उनले भने, ‘यस्तो परीक्षामा हाम्रो कुनै भूमिका हुँदैन । अस्पताल सञ्चालन समितिको अध्यक्षकै छोरा भएकोले पास हुन नहुने तर्क गर्नु हुँदैन ।’

उप निर्देशक डा. उमेश नेपालले पनि अध्यक्षको छोरा भएकै कारण आरोप लगाउन नहुने जिकिर गरे । जिआईतर्फका विभागी प्रमुख डा. विश्वराम पौडेलको संयोजकत्वमा लिइएको परीक्षामा परीक्षा समितिले गरेको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी मात्र आफुहरुको भएको उनको भनाई थियो ।

उत्तीर्ण हुने खुशी र अनुत्तीर्ण हुने असन्तुष्ट हुनु स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै उपनिर्देशक डा. नेपालले न्यूजआजसँग भने, ‘यस्तो परीक्षामा पदीय प्रभाव नपर्नुपर्ने मेरो मान्यता छ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले भने पदीय प्रभावले तीन अंक ल्याउनेलाई चार, चार ल्याउनेलाई पाँच गर्न सकिने भएपनि शून्यलाई दसमा उकास्न नसकिने तर्क गरे ।

उनले भने, ‘म शुक्रबारैदेखि अस्पतालको कामको सिलसिलामा पोखरामा छु । मेरो अनुपस्थितिमा परीक्षा भएको छ । तर, सम्बन्धित विभागका प्रमुखहरुको नेतृत्वमा परीक्षा सञ्चालन भएकाले तत्तत् जिम्मेवार पदाधिकारीहरु जवाफदेही हुन् ।’

मुलुकको सामाजिक तथा राजनीतिक व्यवस्थाले भनसुन हुँदै नहुने अवस्था नरहेको स्वीकारेका कार्यकारी निर्देशक डा. पौडेलले भने, ‘माघ ५ गते भएको परीक्षाको सवालमा सबै जिम्मेवार पदाधिकारीहरुले नेतृत्व सम्हालेको आधारमा फेयर भएको हुनुपर्ने मेरो विश्वास छ ।’

आफु योग्य भएर पाखा लगाइएका एक जना उम्मेदवारले (कार्य क्षेत्रमा जोखिम हुन सक्ने भन्दै नाम उल्लेख नगर्ने शर्तमा) भने भने, ‘गम्भिर स्वास्थ्य क्षेत्रमा आफन्तलाई होइन, योग्यलाई जिम्मेवारी दिनुपर्छ भन्ने मेरो भनाई हो । क्यान्सर अस्पतालको सन्दर्भमा माघ ५ गते लिइएको परीक्षा प्रक्रियावारे छानबीन गरी पुनः परीक्षा लिने वातावरण बनोस् भन्ने मेरो माग हो ।’

Facebook Comments Box