कार्यकर्ताको बलिदानी दिवस, सरकारको रजाइँ

जनकपुरधाम । आज माघ ५ । मधेशमा बलिदानी दिवस । संघीयताको मुद्दा लिएर सुरु भएको आन्दोलनमा आजकै दिन लहानमा रमेश महतोले सहादत दिएका थिए । उक्त घटनालाई स्मरण गर्दै संघीयता आन्दोलनका शहीदहरुको सम्मानमा मधेश केन्द्रीत दलहरुले बलिदानी दिवस मनाउँदै आएका छन् ।
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आज प्रत्येक वडामा बलिदानी दिवसको कार्यक्रम राख्न सर्कुलर जारी गरेको छ । ‘आज हामी (जनमत पार्टी) ले प्रत्येक वडामा बलिदानी दिवस मनाउन परिपत्र भएको छ’ जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले न्यूजआजसँग भने ।
जसपाले लहानमा विशेष कार्यक्रम आयोजना गर्दैछ । पार्टी अध्यक्ष उपेन्द्र यादवसहितको उपस्थितिमा भव्य रुपमा बलिदानी दिवस मनाउने तयारी भएको पार्टीका प्रदेशसभा प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । उनका अनुसार जनकपुरको मुजेलियास्थित शहीद स्मारकमा माल्यार्पण र साँझ भानु चौकमा दीप प्रज्ज्वलन कार्यक्रम राखिएको उनले बताए । पार्टीका अन्य जिल्ला तथा पालिका कार्यसमितिहरुले भने आफ्नै तरिकाले कार्यक्रम गर्न लागेको यादवको भनाई छ ।
लोसपाले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ । मधेश प्रदेश लगायत जिल्लाहरुमा कार्यकर्ताहरुले सहज हुनेगरी स्थानीय स्तरमै कार्यक्रम गर्ने भएपनि पार्टीबाट कुनै सर्कुलर नरहेको लोसपा नेता एवम् पूर्व प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले सद्भावना पार्टीसँग मिलेर जनकपुरमा बलिदानी दिवस मनाउन लागेको जनाएको छ । पार्टी अध्यक्ष वृषेशचन्द्र लालका अनुसार नेपाल सद्भावना पार्टी र तमलोपाले संयुक्त रुपमा जनकपुरमा बलिदानी दिवस मनाइरहेको छ ।
पार्टी तथा कार्यकर्ताहरुले शहीदहरुको स्मरण गरिरहँदा सरकार हाँक्ने मन्त्रीहरुको भने रजाइँ छ । उनीहरुले सरकार चलाउने नाउँमा मौज गरिरहेको टिप्पनी कार्यकर्ताहरुको छ ।
जनमत पार्टीका नेता सुरेन्द्र मण्डलले वडास्तरमै कार्यक्रम आयोजना गरी बलिदानी दिवस मनाउन केन्द्रीय नेतृत्वबाट ह्वीप जारी गरेको बताए । उनले भने, ‘हामी त पार्टीको ह्वीप पनि मान्छौं । शहीदको स्मरण गर्छौं । तर, सरकारले कर्मबाट शहीदको सम्मान गर्न सक्नुपर्ने भएपनि चुकिरहेको छ ।’
प्रदेशको रुपान्तरणका योजनाहरु ल्याएर कार्यान्वयन गर्नुपर्ने बेलामा सरकारका मन्त्रीहरुले गाडी लगायत रजैसी सुविधा भोग्नमै मस्त रहेको गुनासो उनको छ ।
‘कार्यकर्ताहरु कोही शहीद भए । कोही अंगभंग भएका छन्’ जनमत पार्टीका नेता मण्डलले न्यूजआजसँग भने, ‘हामी जिवित रहेका कार्यकर्ताहरुले सँधै शहीदको सपना सकार हुने आशा लिएर संघर्षमा लागिरहेका छौं । हामीजस्तै साथीहरु संघर्ष गर्दागर्दै सरकारमा पुगेपछि सबै बिर्सदा रहेछन् । यो अत्यन्तै दुखद् हो ।’
नेता मण्डलले पुराना गाडीहरुलाई मर्मत गरी काम चलाउने बनाएर प्रदेशमा बढीभन्दा बढी रोजगारको वातावरण बनाउन र विकासका सवालमा गम्भिर भएर काम गर्नुपर्नेमा नयाँ गाडीहरु थन्क्याउँदै अर्को किन्दै सुविधाभोगी भइरहेको आरोप लगाए ।