धनुषामा एकै दिन दुई दुर्घटना, दुईको मृत्यु

जनकपुरधाम । जनकपुरसहित धनुषाको दुई स्थानमा शुक्रबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बिहान ७:१५ बजेको समयमा जनकपुर–ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा कारले ठक्कर दिएपछि मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो ।

जनकपुरतर्फबाट ढल्केवारतर्फ जाँदै गरेको ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा १३ च ९२९२ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार मिथिला नगरपालिका २, राघोपुर घर भएका २५ का नागेन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त डिएसपी बरुण सिंहले जानकारी दिए ।

मोटरसाइकललाई ठक्कर दिएर ढल्केवरतर्फ भाग्दै गरेको अवस्थामा उक्त कारसहित चालक काभ्रेका पाँचखाल निवासी ३३ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको डिएसपी सिंहले बताए ।

शुक्रबारै बिहान करिब साढे ९ बजे जनकपुरको भ्रमरपुरा चोक नजिकै एक ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा महोत्तरी गाउँपालिका –५ गोरिगामा घर भएका ६० वर्षीय सत्यनारायण साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दियो ।

भ्रमरपुरा चोकबाट परिक्रमा सडक हुँदै बलवा टोलतर्फ जाँदै गरेको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदलयात्री वृद्धलाई ठक्कर हानेको थियो । दुर्घटनापछि उक्त ट्रकसहित चालक मिथिला नगरपालिका –११ बस्ने ४१ वर्षीय शिवकुमार थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box